जन सरोकार

मानवजातिको रक्षा र कल्याणका लागि माझी समुदायले गरे ‘कोशी पूजा’

खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित रभुँवाघाटका माझी समुदायले ‘सबैको फलिफाप होस्, मानव जातिको रक्षा गरुन्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै मङ्गलबार दूधकोशी नदीमा पुगेर ‘कोशी पूजा’ गरेका हुन् ।



कोशी पूजालाई राष्ट्रिय चाडको रुपमा मनाउने रभुँवाघाटका माझी समुदायले बाख्राको पाठी, कुखुराको भाले, परेवा, हाँस र कुखुराको अण्डा बली दिएर कोशी पूजा गरिएको रावाबेँसी गाउँपालिका–३ का वडा सदस्य रहेका सोमबहादुर माझीले बताउनुभयो ।

“बाजेबराजुको पालादेखि चल्दै आएको कोशी पूजा सकेपछि गाउँमा भेला भएर खानपिन गर्दै रमाइलो गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “पाँच किसिमका पशुपक्षीको बली दिइने भएकाले कोशी पूजालाई पञ्चौली पूजा पनि भन्ने चलन छ ।”

नेपाल माझी उत्थान सङ्घ जिल्ला कार्यसमिति खोटाङको अगुवाइमा रभुँवाका माझी समुदायले हरेक वर्षको फागुन तेस्रो साता कोशी पूजा गर्दै आएका छन् । कोशी पूजापछि स्थानीय रावा प्राविमा युवा नेता खेमराज देउसालीको प्रमुख आतिथ्यतामा कोशी पूजाको औपचारिक कार्यक्रम गरिएको जनाइएको छ ।

कोशी पूजाका लागि गाउँ छाडेर काठमाडौँ लगायतका शहरमा बसिरहेका माझी समुदाय गाउँमा आउने गरेका छन् । लामीडाँडामा ८७ घर माझी समुदायको बसोबास रहेको छ । रभुँवाघाटको माझी गाउँमा मात्र ६२ घर माझी छन् । कोशी पूजाका लागि सोलुखुम्बु र ओखलढुङ्गाका माझी समुदाय रभुँवाघाटमा भेला हुने गरेको स्थानीय शम्भु माझीले बताउनुभयो ।

“कोशी पूजा आफन्तबीचमा भेला हुने अवसरका रुपमा लिने गरिएको छ”, उहाँले भन्नुभयो, “कोसी पूजाका दिन माछाको परिकार र जाँडको सगुन (प्रसाद) बाँड्ने गरिन्छ ।” पाहुनाका रुपमा बोलाइका अतिथिलाई शुरुमा सगुन तथा माछाका परिकार दिएर सम्मान गर्ने माझी समुदायको चलन छ । कोशी पूजाका दिन कोही नदीमा जाल हान्न व्यस्त रहन्छन् भने कोही पूजा आजामा व्यस्त हुन्छन् ।

रभुँवाघाटका माझी समुदायले दूधकोशीसँगै रावा खोलाको पनि पूजा गर्ने गरेका छन् । रावा खोलाको पनि पूजा गर्नुपर्ने भएकाले उनीहरु दूधकोशी र रावा खोलाको संगमस्थल रावा दोभानमा पुगेर कोशी पूजा गर्ने गरेका छन् । सदियौँदेखि हरेक वर्षको पूर्णिमाका दिन कोशी पूजा, देवी पूजा र डुङ्गा पूजा गर्ने प्रचलन रही आएकोमा विसं २०७४ देखि पञ्चौली पूजा शुरु गरिएको माझी समुदायले बताएको छ । रभुँवाघाटका माझी समुदायले आफूलाई सदियौँदेखि सो स्थानमा बस्दै आएको बताउने गरेका छन् ।

रभुँवाघाटका माझी समुदाय आफ्नो भाषा र परम्परागत वेषभूषालाई जोगाएर राख्न सफल रहेको स्थानीयवासी एवं युवा नेता खिला श्रेष्ठले बताउनुभयो । “रभुँवाघाटमा अन्य जातिको तुलनामा माझी समुदायको बसोबास थोरै छ”, उहाँले भन्नुभयो, “उनीहरु सङ्ख्याको आधारमा थोरै भए पनि आफ्नो संस्कार, संस्कृति, भाषा तथा परम्परागत वेषभूषामा धनी देखिएका छन् ।”

दश स्थानीय तह रहेको खोटाङ जिल्लाको घोपाटार, जयराम, बतासेघाट, गोडुलीघाट र रसुवाघाट पनि माझी समुदायको बसोबास छ । पछिल्लो समय उनीहरु आफ्नो हकअधिकारका लागि संघर्ष गरिरहेका छन् ।

सम्बन्धित खबर

Back to top button