सरकार र चन्द समूहबीचको सहमतिले कालीकोटवासीमा छाएको खुसी

माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले नेत्रविक्रम चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि थप त्रसित बनेका थिए । तर, सरकार र सो समूहबीच तीनबुँदे सहमति भएपछि उत्साहित भएका छन् ।
चन्द समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माको गृहजिल्ला र चन्द समूहको प्रभाव क्षेत्र भएको कालीकोटमा कतै पुनःद्वन्द्व हुने हो कि भन्ने चिन्तामा कालीकोटवासी रहेका थिए ।
चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने, देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका–१ स्थानीय रामबहादुर शाहीले बताउनुभयो । “देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “सरकार र चन्द समूहबीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।”
चन्द समूहको प्रभावित जिल्ला भएका कारणले कालीकोटमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधि गाउँमा जान पनि त्रसित हुने गरेका थिए । चन्द समूहका कार्यकर्ताले गाउँपालिकामा आगजानीलगायत कार्य गरेको कारणले स्थानीयवासी त्रसित बनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कालीकोटका ओली समूहका अध्यक्ष नगेन्द्र शाहीले बताउनुभयो । “कालीकोटका स्थानीयवासीमा ठूलो डरत्रास थियो”, उहाँले भन्नुभयो, “अब त्यसको अन्त्य भएको छ । नागरिकमा उत्साह थपिदिएको छ ।”
कालीकोटमा विसं २०६४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा चन्द समूहले निर्वाचन बिथोल्न खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए ।
सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति स्वागतयोग्य भएको बताउँदै चन्द समूहका जिल्ला सचिव मनिलाल ऐडीले अब खुला राजनीतिमा आउँदा सङ्गठन विस्तामा झन बढी उत्साहसाथ लाग्न प्रेरणा दिएको छ भन्नुभयो । “खुला राजनीतिमा आउन पाउँदा हर्षित तुल्याएको छ”, उहाँले भन्नुभयो, “सरकार र हामीबीच भएको तीनबुँदे सहमति ऐतिहासिक हो ।”
प्रतिक्रिया राख्नुहोस्