केन्द्रको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताउनुभएको छ ।
पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति सभाका अवसरमा नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
“केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ”, उहाँले भन्नुभयो ।
नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डालाई अगाडि सार्नुपर्ने उहाँको भनाइ थियो ।
“स्थानीय तहले विकासलाई गाउँगाउँमा लगेका छन्, विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ, यसलाई कांग्रेसले रोक्नुपर्छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्