जन सरोकार

दुई सय वर्षअघिको इतिहास खोजी : ‘निशान पदमार्ग’ विकास गरिँदै

इलाममा करिव दुई सय वर्षअघिको युद्ध इतिहास खोज्न थालिएको छ । सुगौली सन्धिपश्चात तत्कालीन नेपाली सेनाले इलाम सदरमुकामसम्म निशान ल्याउन प्रयोग गरेको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’को रूपमा प्रवर्द्धन र विकास गरिने भएको छ ।

‘निशान पदमार्ग

इलाम सदरमुकामस्थित नेपाली सेनाको रणशार्दुल गणको पहलमा भारतको मिरिकस्थित नागरीगढीबाट करफोकको पूर्णेडाँडा, नामसालिङ हुँदै इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा निशान ल्याउन प्रयोग भएको नेपाली भू-भागको मार्ग पहिचान गरी ‘निशान पदमार्ग’का रूपमा विकास गर्न लागिएको हो ।

गणपति प्रलाद घलेको पहलमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुख, पदमार्गले छुने पालिका इलाम र सूर्योदय नगरपालिका तथा माईजोगमाई गाउँपालिकाका प्रमुखहरूको बैठकले त्यस्तो निर्णय गरेको हो ।

“सम्बन्धित स्थानीय तहहरूको पहलमा जनप्रतिनिधि र स्थानीय बासिन्दासँगको समन्वयमा निशान ल्याउँदा प्रयोग भएको मार्गलाई निशान पदमार्गका रूपमा विकास गर्न आ–आफ्नो क्षेत्रभित्र पर्ने इलाकाको पहिचान गर्न सम्बन्धित पालिकाले नेतृत्व गर्ने निर्णय भएको छ”, गणपति घलेले भन्नुभयो, “सो बाटोको पहिचान गर्न एक समिति गठन गरी कार्यप्रारम्भ भएको छ ।”

समितिले पहिचान गरेको स्थानहरूमा ऐतिहासिक महत्व झल्किने किसिमका प्रवर्द्धनात्मक सामग्री तयार गर्न पालिका र नेपाल पर्यटन बोर्डसँग समन्वय गरिने उहाँले बताउनुभयो । ‘निशान पदमार्ग’का लागि पर्यटन बोर्डले रु १० लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको खोज, पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले निशान पदमार्गलाई विकास गर्न खोजिएको गणपति घलेले बताउनुभयो । “इतिहासको संरक्षणमा ठोस योगदान पुग्नेछ, इलामवासीको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्रको रूपमा रहेको माईस्थान मन्दिर क्षेत्रको महत्व बढ्नेछ”, उहाँले भन्नुभयो, “समग्रमा इलामको पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पार्नेछ ।”

‘निशान पदमार्ग’ निर्माणका लागि इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चासो देखएका छन् । सूर्योदय नगरपालिका उपप्रमुख दुर्गाकुमार बरालले आफ्नो नगरपालिकाका भू–भागभित्र निशान ल्याइएको मार्ग पहिचान गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको बताउनुभयो । “हामीले एकपटक समन्वय बैठक बसेर निशान ल्याइएको मार्ग पहिचान गर्न अध्ययन सुरु गरिसकेका छौँ”, बरालले भन्नुभयो, “पमदमार्गसहित गढीसमेत राख्ने पहल गरिरहेका छौँ ।”

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले विस्तृत योजना बनाएर जाने तयारीमा रहेको बताउनुभयो । “पदमार्गले अकुपाइ गर्ने जग्गा व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित पालिकालाई दिएर जानुपर्छ”, उहाँले भन्नुभयो, “इतिहासको खोजी गरी पर्यटनको विकासमा समेत टेवा पुर््याउने यस्तो काममा माईजोगमाई गाउँपालिका सधैँ तत्पर छ ।”
सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भएको बताएएको छ । यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।

मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका बताइएको छ ।

पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम –७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निशान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.