टोकियोमा सामूहिक बेल विवाह र ब्रतबन्ध सम्पन्न
नेवाः अन्तर्राष्ट्रिय फोरम जापानद्वारा आयोजित सामुहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) भब्यताका साथ सम्पन्न भएको छ ।

यही मार्च १ तारिख, शनिबारको दिन टोकियो कोतोकु कितासुना स्थित दान्ची हलमा आयोजित यस पवित्र कार्यमा अठार जना बालिकाहरूको बेल विवाह र दुईजना बालकहरूको ब्रतबन्ध सम्पन्न गरिएको थियो।
जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको विशेष उपस्थिति रहेको कार्यक्रममा उहाँले बेल विवाह र ब्रतबन्ध गरेका सम्पूर्ण बालबालिकालाई सहभागिताको प्रमाणपत्र वितरण गर्नुभएका थियो ।
त्यस क्रममा राजदूत डा सुवेदीले नेपाल विभिन्न जातजातिको साझा फूलबारी रहेको र यस फूलबारीमा नेवाः समुदाय एउटा सुन्दर फूल हो भन्नुभयो ।
उहाँले कला, संस्कृति, रीतिरिवाज, र परम्परामा धनी नेवाः समुदायले विदेशी भूमिमा पनि आफ्नो संस्कृति जोगाउँदै यस्ता कार्यक्रम आयोजना गर्नु अत्यन्त सराहनीय कार्यगरेको बताउनुभयो।
संस्थाका महासचिव शिव तण्डुकारका अनुसार, बेल विवाह चौथोपटक र ब्रतबन्ध दोस्रोपटक आयोजना गरिएको हो । टोकियोका साथै चिवा, साइतामा, योकोहामा, गुन्मा, इबाराकी, र तोचिगीबाट पनि सहभागिता जनाइएको थियो।
ूसंस्थाका उपाध्यक्ष रवि श्रेष्ठले टोकियो बाहेक अन्य शहरबाट पनि ठूलो संख्यामा सहभागिता जनाइएको बताउँदै यसले गर्दा आउँदा वर्षहरूमा पनि यस्ता परम्परागत कार्यक्रमहरू आयोजना गर्न अझ ठूलो हौसला र उत्साह मिलेको बताउनुभयो।
नेपालबाट गुरु बिरन बज्र बज्राचार्यलाई जापानसम्म आमन्त्रित गरी यो शुभ कार्य सम्पन्न गरिएको थियो। गुरुको आमन्त्रणको लागि सम्पुर्ण व्यवस्थाको जिम्मा लिनुभएको पूर्व अध्यक्ष बालकृष्ण डंगोल अनुसार नेपालबाट गुरुबोलाई नेवारी परम्परा अनुसार बेल विवाह र ब्रतबन्ध गर्न पाउँदा पुण्यको काम गरेको अनुभव भएको बताउनुभयो।
जापानको कार्यव्यस्तता र बिदा नमिल्ने समस्याका कारण नेपाल गएर बेल विवाह र ब्रतबन्ध गर्न नसकेका धेरै अभिभावकहरूका लागि यो कार्यक्रम विशेष महत्त्वपूर्ण रहेको सहभागी अभिभावकहरूले बताएका छन् ।
संस्थाका संस्थापक अध्यक्ष माधव मानन्धरका अनुसार, जापानमा नेवाः समुदायको बसोबास बढ्दै गएकाले नेवाः कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्ने तथा नयाँ पुस्तालाई चिनाउने र सिकाउने उद्देश्यले सन् २००३ मा यो संस्था स्थापना गरिएको हो।
संस्थाको अध्यक्ष रूपेश डंगोलको अध्यक्षतामा आयोजित यस शुभ कार्यक्रमलाई समापन गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको रात्री भोजमा ‘झों भ्वए’ (नेवारी भोज) समेत व्यवस्था गरिएको थियो । नेपालमा समेत कम हुँदै गएको ‘झों भ्वए’ जापानमा खान पाउँदा सहभागीहरू अचम्मित हुँदै खुशी भएका थिए।
प्रतिक्रिया राख्नुहोस्