सूचना/प्रविधि

ट्वीटरका संस्थापक डोर्सीको पहिलो ट्वीटको मूल्य २५ लाख डलर

विश्वप्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफूले गरेको पहिलो ट्वीट बिक्रीका लागि लिलामीमा राख्नु भएको छ । उहाँको त्यो पहिलो ट्वीटलाई शनिबार २५ लाख डलरमा लिलामीमा स्वीकार गर्न प्रस्ताव प्रस्तुत भएको थियो ।



डोर्सीले बिक्री गर्न खोजेको उक्त ट्वीटलाई ब्लकचेन टेक्नोलोजीमार्फत भर्चुअल वस्तुका रुपमा बिक्री गरिने छ । सन् २००६ मार्च २१ मा डोर्सीले “जस्ट सेटिङ अप माई ट्वीटर” अर्थात् “भर्खरै मैले ट्वीटर खाता खोलेें,” घोषणा गर्नु भएको थियो ।

गत शुक्रबार डोर्सीले ट्वीटका लागि स्थापित अनलाइन बजार “भ्यालुएबल्स एट सेन्ट” मा एउटा लिंक राख्नुभएको थियो । यहाँबाट लगानीकर्ता वा सङ्ग्रहकर्ताले आफ्ना ट्वीट किनबेच गर्न पाउँछन् ।

शनिबार डोर्सीका ट्वीट खरिद गर्न दुई व्यक्तिबीच प्रतिस्पर्धा चलेको थियो । ट्रोन नामको ब्लकचेन प्लेटफर्मका संस्थापक जस्टिन सनले २० लाख डलरमा डोर्सीको ट्वीट खरिद गर्न इच्छा देखाउनु भएको थियो । तर ब्रिज ओराकलका प्रमुख कार्यकारी सिना एस्टाभीले सोही ट्वीट २५ लाख डलरमा खरिद गर्ने घोषणा गर्नु भएको थियो ।

डोर्सीको उक्त ट्वीट डोर्सी र ट्वीटरले अनलाइनबाट नहटाउँदासम्म सबैले अनलाइनमा देख्न पाउने छन् ।

आजभोलि महत्वपूर्ण क्षणका घटनाक्रमलाई “नन–फंगिबल टोकेन (एनएफटी)”मार्फत सुरक्षित गरी बेच्न सकिने बनाइएको छ । गत महिना अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्सको एउटा क्षण (टप सट)को भिडियोले दुई लाख आठ हजार डलर कमाउन सफल भएको थियो ।

सम्बन्धित खबर

Back to top button