बिचार

सन्दर्भ नारी दिवस : गार्गी र योगमायाको भूमिमा किन असमानता ?

ऐतिहासिक तथा पौराणिक तथ्यहरुले नेपाली महिलामा ज्ञान, विज्ञान, चेतनको विगुल फुकेको सन्दर्भहरुबारे सबै जानकार नै छन् । महान विदुषी गार्गीको विद्वता र क्रान्तिनायिका योगमायाको बलिदानीले नेपाली समाजमा नारीमा रहेको चेतना, स्थान र हैसियत स्थापित गरेको छ ।

हाम्रो अभ्यास त के रहेको छ भने¬ छोरीको जन्म हुँदा ‘घरमा लक्ष्मी आइन्’ भन्ने गरिन्छ । घरमा पूजा गर्दा सरस्वती, लक्ष्मी र महाकालीलाई कहिल्यै छुटाइँदैन । हरदिन दिन नारी शक्तिका पूजा गरेर दिनचर्या सुरु हुन्छ । छोरी जाति अर्थात् नारीको अनेकानेक महत्वलाई प्रस्ट्याउँदै वैदिक सनातन शास्त्रहरुले ज्ञान, धन र शक्तिको स्रोतका रुपमा नारीलाई स्थापित गरेको छ ।

यस्तो संस्कार र परम्परा विगतमा भए पनि केही शताब्दीयता महिलालाई हेर्ने नेपाली समाजको दृष्टिकोणमा आएको परिवर्तनले भेदभावको खाडल खनेको छ । यथार्थमा भन्ने हो भने नेपाली समाजमा महिलालाई पुरुषभन्दा अग्रभागमा राखिएको छ । महिलामाथि विभेद गर्ने भनिएका पुरुष पनि नतमस्तक भएर विद्या, धन र शक्तिका लागि नारी शक्तिको पूजा–आराधना गर्दछ । नेपाली समाजमा स्थापित यो मान्यता अझै पनि कायम छ ।

विद्याका लागि देवी सरस्वती, शक्तिका लागि महादेवी र धनका लागि महालक्ष्मीको पूजा–आराधना गर्ने नेपाली समाजले आधुनिककालमा प्रवेश गरेसंगै यी मान्यताहरुलाई केवल संस्कारी र कामकाजी प्रथाका रुपमा मात्र लिंदा महिला र पुरुषबीचको विभेदको खाडल बन्न पुगेको हो । सांस्कृतिक, धार्मिक, व्यवहारिक दृष्टिले नारीलाई प्रशस्तै महत्व दिएको छ । नेपाली समाजमा नारीको स्थान र महत्व शास्त्रीय रुपमै लिपिबद्ध भए पनि यसको अन्तर्राष्ट्रिय अभ्यास भने अमेरिकाबाट सुरु भएको हो ।

नेपालमा योगमाया जस्ता क्रान्तिचेत भएका महिलाहरुले अधिकारको ज्वाला सल्काएका थिए । राणाशासन बिरुद्ध योगमाया सहित उनका अनुयायीहरुले गरेको आत्महत्या विश्व इतिहासमै अन्यत्र पाइन्छ । योगमायाले अरुण नदीको किनारमा आफ्नो टाउकोमा तेलको आगोको दियो भएको प्लेट राखेर चट्टानमा चढेर विधिपूर्वक आत्महत्या गरेकी थिइन् । योगमायापछि उनका ६५ जना भक्तहरूले त्यस दिन एकपछि अर्को गर्दै नदीमा हामफाले र अर्को दिन उनका थप दुई जना भक्तहरूले पनि नदीमा हाम फालेर आत्महत्या गरेका थिए । यो घटना वि.सं. १९९८ को हो । यो घटनाले नेपाली महिलामा क्रान्तिचेत थियो र त्यो चेतनामा उनीहरुमा रहेको शास्त्रीय ज्ञान नै थियो ।

पूर्वीय समाज पितृसत्ताभन्दा मातृसत्ताकै विशेषता पाइन्छ । छोरीलाई शिक्षा दिनुपर्छ भनेर पनि नारा घन्काउनु पर्दैन । पूर्वीय सभ्यतामा छोरीजाति महान विदुषीका रुपमा स्थापित भएका अनेक पाठ्यसामग्री छन् । पूर्वीय संस्कृतिले सम्पत्ति मात्रै होइन परिवारको यश, कीर्ति र आयू तथा गौरब बढाउने श्रेय समेत नारीलाई नै दिएको छ । सामाजिक संस्कारमा छोरी, बुहारीलाई पेवाका रुपमा विशेष सम्पत्ति दिने गरिएको छ । गाउँघरतिर यो प्रथा अझै कायम छ । बाबुआमाले विवाहित छोरीलाई आफूले सके अनुसारको पेवा दिने चलन छ । त्यसरी दिंदा धर्म हुन्छ भन्ने मान्यता छ । यो नारीमाथि सम्पत्तिको हक हो कि हैन ?

हरेकले घरमा मंगलकार्य गर्दा सबभन्दा पहिला मातृका पूजा गर्ने चलन छ । मातृका पूजा नगरी मंगलकार्य सम्पन्न हुँदैनन् । अष्ठमातृकाको महत्व वर्णनातीत छ । मातृकामा चढाइने भेटी, वस्त्र र आभूषणमा छोरीकै हक हुन्छ । नारी नै घरको यश र श्रीवृद्धिको अभियन्ता हुन् भनिएकै कारण महिलाहरू अत्यधिक श्रम गर्दछन् । तर त्यसको कदर हुन सकेको छैन । यो उनीहरूको शोषण हो । सडकमा महिला अधिकारको नारा घन्काएर शहर त तताइन्छ तर गाउँकी गरिब महिलाले त्यसबारे पत्तै पाउँदिनन् । महिला श्रमको कुनै मूल्य छैन । जवसम्म श्रमको सम्मान हुँदैन तवसम्म अधिकारको नारा फगत नारामै सीमित हुनेछ । यो यथार्थ महिलाले भन्दा पुरुषले बढी मनन् गर्नुपर्छ । महिलाले पनि आफूलाई शास्त्रीय रुपमा प्राप्त प्रतिष्ठा र सम्मान प्राप्तिका लागि सोही अनुसार अघि बढ्नुपर्छ । विदेशीले घोकाइदिएको नाराले महिला अधिकार स्थापित हुँदैन । हाम्रा परम्परागत मूल्य–मान्यता नै अधिकार स्थापनाका लागि पर्याप्त छन् । यसका लागि खाँचो छ– मात्र सही सोच र विचारको ।

समानता र सम्मान सबैभन्दा महत्वपूर्ण पक्ष हो । जुन समाजमा एकले अर्कोलाई सम्मान गर्ने परिपाटी बसेको छ त्यहाँ विभेद हुँदैन, त्यो घर सुखी हुन्छ । पुरुषवर्गले महिलालाई घरको विना तलबको नोकर वा विलाशको स्रोत मात्र ठान्ने पश्चिमा आयातित प्रवृत्ति त्याग्नु पर्दछ । नारी आफू स्वयंको पनि जननी हुन् भन्ने तथ्य बुझ्नु पर्दछ ।

अन्तर्राष्ट्रिय नारी दिवसले निर्धारित गरेको लक्ष्य हाम्रो संस्कार र संस्कृतिमै स्थापित छ भने यसको सार्थकता नेपालका यस्ता विधिविधान र मातृशक्तिका महिमाले यथोचित कार्यान्वयन हुन सकेमा मात्र स्थापित हुन्छ ।

यही नै स्वतन्त्र, शान्त, सुखमय हाम्रो आफ्नो जीवनशैली हो, संस्कृति हो र समस्त नारीवर्गको भूमिका र योगदानको सम्मान हो । किनभने महिलालाई सम्मान नगर्नेले स्वयंको सम्मान गर्न सक्दैन । महिलालाई भेदभाव गर्ने पुरुष हुन् वा महिला उनीहरू स्वयं महिलाबाटै जन्म भएका हुन् । महिला समग्रमा मातृशक्ति हुन् भन्नुको तात्पर्य नै ममता, सहनशीलता र धैर्यको पर्यायका लागि हो । त्यसकारण महिलाको योगदानको यथोचित सम्मान र कदर हुनैपर्छ ।

शास्त्रमा महिलामाथि कुनै प्रकारको भेदभाव, शोषण र दमन गर्नु हुँदैन भनिएको छ । कानुनले पनि त्यही भन्छ । समावेशी, समानुपातिक प्रतिनिधित्व नेपालको संविधानले गरेको छ । तर, नेपालमा महिला अधिकार र महिला सुरक्षाका विषय निकै चुनौतिपूर्ण बन्दै गएको छ । समाज जति शिक्षित र सभ्य बन्दै गयो भनिए पनि नेपाली महिलाहरू सुरक्षित हुन सकिरहेका छैनन् । घरभित्रैबाट महिला पीडित भैरहेकी छिन् ।

विगत केही वर्षयता नेपालमा महिला अधिकारका बारेमा बढी नै सचेतना उत्पन्न भएको देखिन्छ । अधिकारवादीहरू निकै सक्रिय पनि देखिन्छन् । तर नतिजा विगतमा जस्तो थियो त्यस्तै देखिन्छ । समयक्रमसंगै उत्पन्न हुने जागरण बाहेक अधिकारवादीहरूको अभियानले खासै उपलब्धि दिएको देखिंदैन ।

यसको अर्थ अभियान शून्य उपलब्धिमूलक रहेको भन्ने पक्कै होइन तर जेजति साधन स्रोतको खर्च हुन्छ त्यसको तुलनामा प्राप्ति कम छ भन्दा कसैप्रति तुच्छ आलोचना मात्र गरेको ठहरिंदैन । प्राप्तिको नाममा अरुको आलोचना गर्नेभन्दा बढी काम हुन सकेको छैन । जनता सचेत हुनका लागि सोही अनुसारको नीति निर्माण गर्नुपर्छ ।

विदेशीलाई देखाउनकै लागि मात्र विभिन्न निकायको गठन गर्ने प्रवृत्तिमा कुनै सुधार छैन । समानता र विभेदरहित समाजको कल्पना गर्नेहरूले अरुको विरोध मात्र गर्दैनन् कि चेतना जगाउने काम पनि गर्दछन् । तर अहिले महिलाका सवालमा पुरुषलाई गाली नगरी अधिकारको व्याख्या हुनै नसक्ने बनाइएको छ । त्यस्तै धर्म, संस्कृति र परम्पराको विरोध गर्दै अग्रगामी वा क्रान्तिकारी बन्नेहरू पनि प्रशस्त देखिएका छन् ।

माथि नै वर्णन गरियो कि सामाजिक–धार्मिक अभ्यास र शास्त्रहरुमा लिपिबद्ध भएको तथ्यहरुले महिलालाई उच्च सम्मान, स्थान र महत्व दिएको छ । तर, हाम्रो शास्त्रीय अभ्यासले महिलालाई दिएको उच्च सम्मानको खिल्ली उडाउँदै हिन्दु संस्कारले महिलामाथि विभेद गर्यो भन्दै सांस्कृतिक रुपमा मुलुकलाई छिन्नभिन्न पार्ने र अर्को विभेद सिर्जना गर्ने प्रयास भैरहेको छ । तर, अष्टमातृकाको पूजा गर्ने, सरस्वती, लक्ष्मी र महाकालीको आराधना गर्ने स्वयं यसका प्रतीक नेपाली महिलाहरु आफ्नै शक्तिसंग अनभिज्ञ छन् ।

महिला हुन् वा पुरुष, शासक हुन् वा रैति अनि धार्मिक गुरु हुन् वा सामाजिक अभियन्ता सबैले आफ्नो मौलिकताको अध्ययन गर्नैपर्छ । मुलतः नारी दिवसको सन्दर्भमा पश्चिमाको नारा र एजेण्डा मात्र हैन कि नेपाली संस्कृतिमा नारीको के भूमिका थियो र नेपाली समाजले नारीलाई कसरी हेरेको छ भन्ने विश्लेषण गर्नु आवश्यक छ ।

नारीमा श्रमगर्ने अपार क्षमता छ, धैर्य, सहनशीलता र ज्ञानको भण्डार छ । उनीहरुले कुनै किताबै नपढी भने अनेक सीप र ज्ञान आर्जन गरेका हुन्छन्, यस्तो गुण पुरुषमा कमै मात्र हुन्छ । नारीका यी गुणहरुको सम्मान गर्दै समाज विकासमा अग्रसर गराउने उनीहरुको आत्मसम्मान रक्षाका लागि दण्डनीय कानुन बनाउने हो र वैदिक अभ्यासलाई पुनःस्थापित गर्दै जाने अभियान थालनी गर्ने हो भने हामी नेपाली महिला अधिकार स्थापनाका सवालमा विश्वकै लागि अग्रणी र अनुकरणीय बन्नेछौं ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.