जापानबिचार

माता सरस्वतीसंग जनश्रुति जोडिएको गुफा पुग्दा

जापानमा छैटौंदेखि आठौँ शताब्दी बीचमा ज्ञानकी देवी सरस्वतीको पहिचान र प्रचार हुन थालेको

टोकियो जापान । जापानका आध्यात्मिक ठाउँहरुको भ्रमण गर्ने धारावाहिक क्रमको दोस्रो यात्रा स्वरुप साथी ताईगाले एनोशिमा टापुको प्रस्ताव गर्नुभयो ।

राजधानी टोकियोबाट नजिक र सामुद्रिक बगर (विच) को रुपमा प्रख्यात एनोशिमा किन आध्यात्मिक रुपले महत्वपूर्ण मानिन्छ भन्ने हामीलाई ज्ञान नभएकोले पहिले त छक्क पर्यौं ।

तर, यात्रा दलका सबैले प्रस्तावित दुईमध्ये यतै जाने मनशाय ब्यक्त गर्नु भएकोले मार्च ५ तारिख आइतबारका दिन जाने कार्यक्रम जुरायौं ।

एनोशीमा (江ノ島) टोकियोबाट झण्डै ५० किमी दक्षिण पश्चिममा रहेको एक आकर्षक पर्यटकीय टापु हो । मोटामोटी रुपमा, यहाँबाट देखिने फुजी हिमालको सुन्दर दृश्य, समुद्री बगर (विच) स्थानीय सामुद्रिक श्रोतबाट उपलब्ध खाना र प्राचीन कालदेखिको गुफा यहाँका मुख्य आकर्षण रहेछन् । पर्याप्त मात्रामा हावा चल्ने हुँदा पानीमा तैरिएर खेलिने सर्फिङ तथा साना जलयात्राका फेरी तथा पाखुरा खियाएर चलाउने डुङ्गामा रमाउने जापानीहरु पनि उल्लेख्य देखिए ।

आध्यात्मिक हिसावमा भने एनोशिमाको सानो टापूले जापानको सम्बृद्ध बौद्ध धर्मको विकासमा ठूलो योगदान दिएको तथ्यको साक्षी अझै पनि त्यहाँ संरक्षित मठ, मन्दिर र गुफाले दिंदारहेछन् र यसको संक्षिप्त चर्चा तल गर्ने जमर्को गर्दछु ।

यो टापू एउटा ठूलो पहाड नै रहेछ र यही पहाडका विभिन्न ठाउँमा बेचुमिया, नाकाचुया र ओकुचुमीया गरी ३ दिदीबहिनीलाई पूजिने ३ मुख्य जीन्जा रहेछन् । यी दिदीबहिनीले यो भूभाग वरपर रक्षा गर्ने बिश्वास लिँदो रहेछ।

बेचुमिया जीन्जा त सन् १२०६ देखि अस्तित्वमा रहेको प्रमाण रहेछ, जसलाई १७औं शताब्दीमा पून निर्माण गरी हालको अवस्था चाहिं १९७६ को जीर्णोद्वार उपरान्त ल्याइएको रहेछ । नाकाचुया त्यसभन्दा पनि अगाडि, ८५३ देखि अस्तित्वमा रहेको र हालको स्वरूप चाहिं १९९६ को जीर्णोद्वारपछिको रहेछ ।

त्यसै गरी ओकुचुमिया सन् १८४२ मा निर्माण भएको रहेछ । यसको नजिकै डरलाग्दो ड्रागनको मूर्तिको माथिपट्टि छानोमा भएको मन्दिर देख्यौं । बुझ्दै जाँदा यसको पछाडि त निकै गहिरो कथा रहेछ ।

१३ औं शताब्दी (कामाकुरा समयताका)मा एक सन्तले हालको एनोशिमा गुफामा तपस्या गरेका रहेछन् । त्यसबेला जापानमा बेन्जाइतेन भनेर चिनिने सरस्वती माता प्रकट भइन् । मातासंग उनले भविष्यका आफ्ना (जापानी) सन्तानको रक्षा र मंगलको लागि बरदान माग्दा “तथास्तु” भनेर बरदान दिएपछि ड्रागनको रुप लिएर समुद्रमा अन्तरध्यान भइछन्। त्यसैले प्रभुको आशीर्वाद पाइरहन त्यहाँ ड्रागनको मूर्ति स्थापना गरिएको रहेछ ।

निकै कलात्मक मन्दिरहरु र त्यसका पछाडिका यस्ता घतलाग्दा किम्बदन्तीमा आफैंलाई भुलाउँदै हाम्रा पाइला अघि बढ्दै थिए। साथी डबलले देब्रेतिर मोडिने आग्रह गर्नुभयो । के रहेछ भनेको त, त्यहाँ प्रेमी प्रेमीकाहरुको चोखो प्रेमलाई गाँठो पारेको ताल्चा झुण्डाउने र आफ्नो अटुट प्रेमको मधुर ध्वनी गुञ्जाउदै घन्ट बजाउने ठाउँ रहेछ।

हामीले ताल्चा त लगेका थिएनौं, न त कागजमा लेखेर नै कुनै कामना बाध्यौं त्यहाँ। तर साथीत्वको गाँठो भने अझ कसिलो बनोस भन्दै घण्टी चाहिं बजायौं।

साथी ताईगाको पाइला पछ्याउदै अब चाहिं गुफातिरको अवलोकन गर्न भनेर ओरालो लाग्यौं । प्रवेश शुल्क बापत ५०० येन तिर्नुपर्ने रहेछ । त्यहाँ पर्याप्त उज्यालोको ब्यबस्था भए पनि यौटा मैनबत्ती पनि दिंदा रहेछन् प्रत्येक यात्रीलाई । करिब २०० मिटर भित्रसम्म जान मिल्ने सो गुफा प्राचिन बौद्ध साधकले तपस्या गरेर सरस्वती माता प्रकट हुनुभएको ठाउँ पनि रहेछ।

जापानमा छैटौंदेखि आठौँ शताब्दी बीचमा हिन्दु धर्मावलम्बीको ज्ञानकी देवी सरस्वतीको पहिचान र प्रचार हुन थालेको इतिहास छ। पर्यटकको आकर्षणको लागि त्यहाँ व्यवस्था गरिएको रोचक बत्तीको सजावट देखेर हामी सबै सुदूरबाट शहर पसेका बालकहरु झैं पुलकित भयौं । आफ्ना नानीहरुलाई पनि अर्कोपटक ल्याउनुपर्ने सुझाव साथी दीपकले ल्याउनु भयो । जसलाई सबैले आत्मसात गर्यौं ।

त्यहाँबाट निस्किएर, अजंग चट्टानलाई दाहिने पार्र्दै समुद्री किनारतिर अघि बढ्यौं। “यहाँसम्म आएपछि त पितृलाई पानी चढाउन पर्छ” आलोकजीले भन्नुभयो । हुन पनि गङ्गाजल भनेर हाम्रो धार्मिक अनुष्ठानमा चढाउने जल पनि त समुद्री पानी, छालको मौका छोपेर आफू नभिज्ने गरी सबैले आफ्ना दिवंगत पितृहरुको सम्झना गर्दै जल तर्पण चढायौं।

आलोकजीले आफ्नो मातृभूमिप्रतीको सम्झनालाई ब्युझाउँदै ढाकाटोपी निकालेर लगाउनु भयो। कति आत्मिय त्यो टोपी अनि परदेशमा देशको सम्झना बल्झाउने त्यो क्षण । सबैले पालैपालो ढाकाटोपीमा ढल्कदै असीमित समुद्रलाई पृष्ठभूमिमा पारेर फोटो खिच्यौं। त्यहिं आलोकजीद्वारा सम्पादित “चार पुस्ताका कथा” को पुस्तक बोकेर लोकार्पण गरेजस्तै भावमा तस्वीर संग्रहित गर्यौ ।

पशुपतिको जात्रा सिद्राको ब्यापार भनेजस्तो, नेपाली भाषा र साहित्यलाई जोडेर त्रिबेणी संगम गरायौ, माता सरस्वतीको प्रसङ्ग, सुन्दर समुद्री तटको पर्यटन अनि चट्टानभित्रको गुफाको अवलोकन ।

यसो गर्दा गर्दै खानाखाने समय पनि भयो। साथी ताईगा अघि अघि दौडदै गएर समुद्र राम्ररी देखिने अग्लो मचान जस्तो भोजनालयको टेवल बुक गर्न जानुभयो । पसल्नी साहुनी फरासिली रहिछन्। उनले थपी थपी जापानी चिया (ग्रीन टी) दिइन । तिर्खाएका र भोकाएका हामी खुशी नहुने कुरै भएन ।

खाइवरी सकेर, केहीबेर समुद्री तटमा टहलिने र आराम गर्ने समय व्यतित गरेर जापानको गर्विलो इतिहास, आफ्नो संस्कृतिप्रतिको उच्च सम्मान र सार्वजजिक ठाउँको सफाईमा मरिमेट्ने जापानीहरुप्रति नतमस्तक हुँदै घर फर्कने तरखरमा लाग्यौं।

यी र यस्ता यात्राले मनभित्रको आनन्दमय गराउने तन्तु सक्रिय गराएको महसुस भयो । ठट्टा मजाकमा रमाउँदै दीपकजीको सुरक्षित सवारी चलानमा बाटो काटेको पत्तै नपाइ गन्तव्यमा फर्कियौं । यो यात्राको उत्प्रेरणाले जापानको ब्यस्त दिनचर्याबीच हल्का भए पनि जीवनमा आध्यात्मिक बुझाई बढ्दै जाने विश्वास मनभरि फैलिरह्यो, बुद्धको आभामण्डलबाट ज्योति फैलिए जस्तै गरेर !

अस्तु !

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.