अस्ट्रेलियापछि युएईमा रहेका नेपालीमा कोरोना संक्रमण
नेपालमा कोरोना भाइरसको संक्रमण नदेखिए पनि विदेशमा रहेका नेपालीहरुमा भने यसको संक्रमण भेटिएको छ । केही दिन अघि विदामा नेपाला आएर फर्केका एक विद्यार्थी कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको समाचार बाहिरिएका बेला युएईमा पनि दुई नेपालीमा कोरोना भाइरसको संक्रमण भएको समाचार आएको छ ।
युएईको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।
यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ । यद्यपि उनीहरु मध्ये १२ जना निको भएर घर फर्किएका छन् । पाँच जना सोमबार मात्र घर फर्किएका थिए । सोमबार नेपाली दूताबास बन्द रहेका कारण कोरोनाबाट संक्रमित नेपालीबारे थप जानकारी प्राप्त भएको छैन ।
यसअघि अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिए पनि उनको स्वास्थ्य स्थितिमा सुधार आएको नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले बताउनुभएको छ ।
यसैबीच क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ । दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्