प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका, पिसाब परीक्षणको रिपोर्टपछि मात्र डिस्चार्जको निर्णय हुने

अघिल्लो बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । केही दिनमै अस्पतालबाट घरबाट पठाउने तयारी चिकित्सकहरुले गरिरहेका बेला प्रधानमन्त्रीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ ।
चिकित्सकहरुका अनुसारा कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको स्वीकार गर्दै पिसाब कल्चर गर्न पठाइएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार ‘उहाँलाई अहिले संक्रमण जोखिम छ, त्यसैले हामीले हरेक दिन केही न केही परीक्षण गरी नै रहेका हुन्छौं । पिसाबको पनि त्यहीअनुरूप कल्चर गर्न पठाइएको र रिपोर्ट ४८ घण्टापछि आउँछ अनि मात्र थप भन्न सकिन्छ ।
कान्तिपुर दैनिकका अनुसार चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।
प्रधानमन्त्री ओलीमा ‘क्लेबसेला’ को संक्रमण रहेको रिपोर्ट आए उनको अस्पताल बसाइ थप केही दिन लम्बिन सक्छ । चिकित्सकका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई यो ब्याक्टेरियाको संक्रमण हुने सम्भावना उच्च रहन्छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा यस प्रकारको पिसाबको संक्रमण देखिने दर उच्च रहेको छ । सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको पाँचदेखि सात दिनभित्र डिस्चार्ज गर्ने बताए पनि ओलीलाई बुधबारसम्म ‘लिभर आईसीयू’ मै राखिएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले डिस्चार्ज गर्ने भन्ने निर्णय चिकित्सकले नै लिने बताउँदै ‘डिस्चार्ज गर्ने निर्णय भएपछि सञ्चार माध्यमलाई अवश्य डाकिने,’ बताउनुभयो ।