बिचार

कुरा मान्ने ! कुरै नमान्ने रे !!


कोही भन्छन् मलाई भनेको साह्रौ मान्छ, कुरा मान्छ- कसैले भन्छन् मलाई भनेको मान्दै मान्दैन, कुरा मान्दैन । आख़िर यो कुरा मान्ने भनेको के रहेछ, कुरा नमान्ने भनेको के रहेछ त ? यसो शब्दका मर्म, भाबनाव लुकेका अर्थ सबै केलाउन मन लागेर आयो आज ।

म बच्चा हुँदा (१-२ वर्ष) हजुरबुबा, हजुरआमा लगायतका सम्पूर्ण आफन्तजन, छरछिमेकीहरुले मलाई साह्रै कुरा मान्ने भन्नुहुन्थ्यो रे । मलाई बाल्यकालको स्मरण कम मात्र भएकाले त्यो बेला कसले किन कुरा मान्ने भने थाहा नै भएन ।

समय बित्दै गयो ४-५ वर्षको भएँ । त्यो बेलाका यादहरु अलि अलि यो मानसपटलमा छ । कुनैका नजरमा कुरा मान्ने भएछु, कसैका नजरमा कुरै नजान्ने भएछु । अलि अलि बुझेको हो की जस्तो पनि लागिरहेको थियो ।

अनि ९-१० वर्षतिर होला, घरका आफन्तहरु मात्रै हुँदा कुरा नमान्ने, पाहुना अर्थात् बाहिरका मानिसहरु आउँदा कुरा मान्ने भएछु । घरमा आफन्तजन मात्र हुँदा हजुरबुबा, हजुरआमाले बाबु यसो गर्नुपर्छ, यस्तो खानुपर्छ, योसंग घुम्नु पर्छ, योसंग घुम्नु हुँदैन लगायतका कुराहरु गर्नु हुन्थ्यो । प्रायःजसो कुरै नमान्ने, यो गर, त्यो गर भन्ने कुरा हुन्थे ।

तर जब घरमा अरु कुनै पाहुना, बाहिरका मानिसहरु आउथे । अघिका कुराहरु उल्टिन्थे । हाम्रो बाबुले यसो गर्छ, यस्तो खान्छ, यसरी घुम्छ, भनेको मान्छ, ज्ञानी छ । अर्थात् कुरा मान्छ भन्ने शब्दहरु बढ़ी प्रयोग हुन्थे ।

९-१० बर्षबाट अलि अलि थाहा पाउन थाले । एउटै कुरा हो तर यो बेलामा यसो त्यो बेलामा त्यसो भनेको जस्तो । त्यहाँ उपस्थित व्यक्तिले गर्दा कुनै दिन कुरा मान्ने बनाइदिन्छन्, कुनै दिन कुरै नमान्ने । त्यो बेलाबाट किन रैछ भनेर यसो खोजी गर्न मन लागिरहेको थियो । हाम्रो समाजमा आफ्नालाई राम्रा र अरुलाई नराम्रा भन्ने चलन भएर पो हो कि जस्तो पनि लाग्यो । अनि देखाउने प्रकृत्तिले गर्दा पनि हो जस्तो लाग्छ ।

हुन त आफ्नालाई राम्रो देखाउन खोज्नु नराम्रो कुरा पटक्कै होइन तर त्यस्ता क्रियाकलापले ती आफ्नालाई कस्तो प्रभाव पार्छ होला त ? सोच्न जरुरी छ जस्तो लाग्यो । फेरी नराम्रोलाई राम्रो देखाउनु पर्छ भन्न खोजेको छैन है । राम्रोलाई राम्रो र नराम्रो लाई नराम्रो भन्दा कसो होला ? त्यो व्यक्तिको व्यक्तित्व विकासलाई कति कुन भनाइले सहयोग गर्ला त ?

बाँटो बिराएको मान्छेलाई त्यो बाँटो सही छ भन्नु राम्रो होला त ? पटक्कै हुँदैन मेरो सोचाइमा । त्यसैले बाल्यकालदेखि नै कसैको अगाड़ी मान्ने बनाइदिने , कसैको अगाडि नमान्ने बनाइदिने चलन त्याग्नु नै राम्रो हो की ??

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.