राजनीति

गलत सरकारका कारण अर्थतन्त्र पनि गलत बाटोमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत प्रक्रियाबाट बनेको सरकारका कारण अर्थतन्त्र पनि गलत बाटोतर्फ मोडिएको आरोप लगाउनुभएको छ ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आइतबार आयोजना गरेको अन्तरक्रियामा उहाँले सो आरोप लगाउँदै आत्मनिर्भर अर्थतन्त्रको जगका रूपमा कृषि उत्पादनलाई बढोत्तरी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष ओलीले आर्थिक समृद्धिका लागि भौतिक पूर्वाधार, कनेक्टिभिटी, मानव संसाधन विकास, डिजिटल नेपाल, ऊर्जा, कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा सिफारिस हुनु उपलब्धि भएको उल्लेख गर्दै उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्ने सन्दर्भमा १४ सूचकहरूमा सन्तोषजनक प्रगति भएकाले नेपालले समयभित्रै दिगो विकास लक्ष्य पूरा गर्ने अवस्थामा रहेको उल्लेख गर्नुभयो । तथापि दिगो विकासको लक्ष्य हासिल गर्ने अवस्थामा देशको अर्थतन्त्र नै धराशयी अवस्थामा पुग्ने हो कि भन्ने खतरा रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले कोभिड महामारीको जोखिम विश्वव्यापी रूपमै करिब नियन्त्रणको बाटोमा रहेकाले अब आर्थिक गतिविधि लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले सञ्चालित आयोजना समयमै सम्पन्न गर्ने र आधुनिक पूर्वाधार, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

अध्यक्ष ओलीले मुलुकको विद्यमान अर्थतन्त्रको अवस्थाबारे सार्वजनिक गर्न अर्थमन्त्रालयको ध्यानाकर्षणसमेत गराउनुभयो । मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि अर्थमन्त्रीलाई चुनौती दिनुभयो । सरकार गठबन्धन जोगाउन मात्रै लागेको भन्दै उहाँले सरकारका मन्त्रीहरुलाई कमिसनखोरीको आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले आफूले सरकार छोड्दा एक हजार तीन सय ९९ अर्ब रहेको विदेशी मुद्रा सञ्चिति एक सय १५ अर्ब बढी घाटा भएको, आफूले छोड्दा वस्तु तथा सेवाको आयात धान्ने अवस्था ११.२ महिनाको रहेकोमा अहिले ६ महिनाका लागि पनि नभएको आरोप लगाउनुभयो ।

त्यस्तै उहाँले आफूले छोड्दा शोधानान्तर १.२३ अर्ब बचत रहेकोमा अहिले २४.।३ अर्ब नै घाटामा भएको बताउनभयो । सो तथ्यांक नेपाल राष्ट्र बैंकले हालै मात्र सार्वजनिक गरेको थियो ।

कार्यक्रममा पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगर्डले खस्कँदो अर्थतन्त्रलाई उकास्न र उद्योगी व्यवसायीको समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button