गर्मीयाम नलाग्दै देखियो डेङगुको यस वर्ष पनि महामारी फैलिने संकेत
अघिल्लो वर्ष देशका ६० जिल्लामा फैलिएको डेङगु यस वर्ष गर्मी मौसम सुरु हुनासाथ देखा पर्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेंगुका विरामी भेटिएको र यो वर्ष पनि डेंगुले उग्ररुप लिन सक्ने चिकित्सकहरुले बताइरहेका छन् ।
अहिले विश्व नै कोरोना भाइरसको संक्रमणबाट ग्रस्त भैरहेका बेला विश्वकै लागि सधैं महामारीका रुपमा रहने डेङगुको पनि उपचार छैन । विश्व स्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मान्दै यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरिरहन्छ ।
पछिल्लो समय झापा, मोरङ र सुनसरीमा गरेर ६ जनामा डेंगु देखिएको छ भने प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा गरी ९ जनामा डेंगुको संक्रमण भेटिएको छ । गण्डकी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा २ जनामा डेंगु भेटिएको छ । त्यसैगरी प्रदेश नम्बर ५ मा १४ जना डेंगु संक्रमित भएका छन् ।
एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक हो डेंगु । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षण हुन् ।
एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । डेंगु लागेमा मानिसको सेता रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् । शरीरभित्र रक्तस्राव हुन थाल्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ ।
डेंगु लाग्दा देखिने लक्षण
– असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसपेशी दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
– पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखा पर्न सक्छ ।
डेंगु भएको कसरी थाहा पाउने ?
चिकित्सकका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउँदा शरीरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।
टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने, रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।
बच्ने उपाय
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाडा जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्नुपर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।
यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।
प्रतिक्रिया राख्नुहोस्