कोरोनाले जुराइदिएको सार्क कन्फ्रेन्स : नमस्ते गर्न प्रधानमन्त्री ओलीको आग्रह
लामो समयदेखि निस्क्रिय रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का नेताहरुलाई कोरोनाले एकजुट बनाइदिएको छ । विश्वभर कोरोनाको महामारी फैलिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सार्कका सरकार तथा राष्ट्रप्रमुखहरुले भिडियो कन्फ्रेन्स गरेर कारानाबिरुद्ध एकजुट भएर लड्ने प्रतिबद्धता जनाएका छन् ।
सोही कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न एकापसमा भेट्दा हात मिलाउनाको साटो नेपाली संस्कृति अनुसार नमस्ते आदानप्रदान गर्न दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुककाका नेतालाई आह्वान गर्नुभएको छ ।
उहाँले कोभिड साझा समस्या र चुनौती भएकाले यसविरुद्ध लड्न साझा पहल हुनुपर्नेमा जोड दिँदै सचेतना अभियान चलाउन, रोकथामका लागि परिचालित हुन र आम भेला आयोजना नगर्न पनि आग्रह गर्नुभयो ।
कोभिडविरुद्ध लड्न सार्क आपत्कालीन कोष खडा गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले ग्रामीण क्षेत्रमा अस्पताल तथा अनुसन्धान र उपचारका लागि सञ्जाल विस्तार गर्न पनि सुझाव दिनुभयो । उहाँले आफ्ना आर्थिक कारोबार, आन्तरिक व्यापार र क्षेत्रीय संवादलाई निरन्तरता दिन पनि उहाँले आग्रह गर्नुभयो ।
सो कन्फरेन्समा सार्कका अध्यक्षसमेत रहनुभएका ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भाग लिनुभएको थियो । सार्क नेताहरुको भिडियो कन्फ्रेन्ससंगै सार्क सक्रिय हुने आशा भने पलाएको छ ।
किनभने भारतका कारण संकटमा परेको सार्कलाई सक्रय तुल्याउन भारतले नै अग्रसरता लिएका कारण पुनर्जीवनको अपेक्षा पलाएको हो । चार वर्षअघि नै भइसक्नुपर्ने सार्कको १९ औं शिखर सम्मेलन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नचाहेपछि आजसम्म हुन सकेन र सार्क निष्क्रिय अवस्थामा छ ।
मोदीले शुक्रबार ट्वीट गर्दै कोरोना संक्रमणबाट दक्षिण एशियाका जनतालाई जोगाउन सार्क मुलुकबीच सहकार्यको आवश्यकता रहेको भन्दै सार्क राष्ट्रका सरकार प्रमुखहरुलाई भिडियो कन्फरेन्सका लागि आग्रह गरे ।
मोदीको आग्रहलाई सबैभन्दा पहिला सार्कको अध्यक्षसमेत रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गर्दै उनको पहलको स्वागत गरे । मोदीको आग्रहलाई अन्ततः पाकिस्तानले समेत स्वीकार गरेका कारण ५ वर्षपछि भिडियो कन्फरेन्सबाटै भने पनि सार्कका शीर्षनेताहरुबीच सामुहिक संवादको अवसर पैदा भएको छ ।
कोरोनाकै कारण किन नहोस, करीव–करीव मृतपायः रहेको सार्कले अब पुनर्जीवन पाउने आशा पलाएको छ । सार्क अध्यक्षको हिसाबले नेपालका लागि यो राम्रो अवसर हो ।
नेपालले भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई समेत एउटै मञ्चमा राख्ने अवसर सिर्जना गर्न यस मौकालाई सदुपयोग गर्नुपर्छ । अध्यक्षको हैसियतले अब शिखर सम्मेलनका लागि अन्य मुलुकलाई प्रेरित गर्ने र साझा मञ्चबाट क्षेत्रीय समस्याबारे छलफल गर्ने उपयुक्त अवसर आएको छ ।
सार्क शिखर संवादको यो पहल कसले लिनुपथ्र्यो भन्ने बहसको औचित्य छैन । किनकि हिजो भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानसँग मञ्च शेयर नगर्ने अडान लिएकै कारण २०७३ साल मंसिरमा इस्लामावादमा हुनुपर्ने १९ औं शिखर सम्मेलन रोकिएको थियो । आतंकवादी हमलामा भारतीय सैनिक मारिएपछि उसले पाकिस्तानमाथि आरोप लगाएर सार्क अवरुद्ध गरेको थियो ।
त्यसबेला भारतलाई अफगानिस्तान, भुटान, माल्दिभ्स र बंगलादेशले पनि साथ दिएका कारण अनिश्चितकालका लागि सार्क सम्मेलनमात्र होइन सार्कका अन्य संयन्त्रहरु समेत निश्क्रिय भएका थिए । सार्क अध्यक्षका हैसियतमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत असोजमा न्युयोर्कमा सार्क विदेशमन्त्री स्तरीय बैठक राख्नुनै यसबीचको ठूलो उपलब्धी थियो ।
नेपालले अध्यक्षता गरेको बैठकमा पनि भारत र पाकिस्तानका विदेशमन्त्री सँगै बस्न भने मानेनन् । केही समयअघि र पछि गरेर भने पनि उनीहरुले नेपालको पहलमा साथ दिएका थिए । यसबीचमा नेपालले सार्क अध्यक्षका हैसियतमा पटक– पटक यसलाई सक्रिय बनाउन र शिखर सम्मेलन आयोजना गर्न पहल गरिरहे पनि मुलतः भारत सार्कप्रति उदासीनमात्र रहेन नकारात्मकै बन्यो ।
भारतले सार्कलाई निष्क्रिय बनाएर पाकिस्तान बाहेकका मुलुकको बिमस्टेकलाई सक्रिय बनायो यसबीचमा । सार्क भारतकै कारण अवरुद्ध भएको थियो अथवा निष्क्रिय भएको थियो भन्ने बुझ्न अरु धेरै तर्क आवश्यक छैनन् । मोदीले पहल गर्नासाथ पाकिस्तानसहित सार्कका सबै सरकार प्रमुखहरु भिडियो कन्फरेन्सका लागि तयार हुनुले पनि सार्कलाई संकटमा पार्ने को थियो भन्ने प्रष्ट हुन्छ ।
२०७१ मंसिरमा काठमाडौंमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनयता यस क्षेत्रमा धेरै ठूला उथलपुथल भए । सार्कलाई जीवन्त बनाउन नेपालले गरेको आग्रहमा भारत सधैं मौन बस्यो । तर, कोरोनाले मोदीलाई सोच्न बाध्य बनाएकै हो त रु हिजो पाकिस्तानलाई अलग गरेर विमस्टेकलाई सक्रिय बनाउन खोज्ने भारत अन्ततः कोरोनाविरुद्ध लड्न सार्क सहकार्य महशुस गर्ने विन्दुमा आइपुगेको छ, जुन सकारात्मक कार्य हो ।
विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोरोनाले भारत वा पाकिस्तान भन्दैन । सार्क मुलुक जनसंख्याका हिसाबले संसारको ठूलो हिस्सा ओगट्छन र जोखिमका हिसाबले पनि सबै उत्तिकै जोखिमपूर्ण अवस्थामा छन् । यो अवस्थामा भारतले कोरोनाविरुद्ध लड्न सार्क मुलुकबीच सहकार्यको बोध गर्नु सार्क सक्रियताका लागि ढोका खुल्नु पनि हो ।
पाकिस्तानलाई अलग्याएर क्षेत्रीय संकटको सामना गर्न सकिन्न भन्ने कुरा प्रष्टै थियो । नेपालले पटक–पटक दुबै मुलुकका प्रधानमन्त्रीहरुसँग कुरा गरेर क्षेत्रीय संकट समाधानमा जिम्मेबार बन्न आग्रह गरेकै हो । संकट पर्दामात्र सम्झिने मञ्च सार्क नबनोस् भन्ने सन्देश भारतले सुन्न र बुझ्ने गरी अन्य मुलुकले भन्न सक्नुपर्छ ।
किनकि, यसबीचमा दुईवटा शिखर सम्मेलन भइसक्नुपर्नेमा मुख्य गरी भारतको उदासिनताकै कारण हुन सकेनन् । नत्र यतिबेला इस्लमावाद र श्रीलंकाले पनि शिखर सम्मेलन आयोजना गरिसक्ने थिए । सार्कका अन्य संयन्त्रहरु पनि सक्रिय हुँदा क्षेत्रीय आर्थिक ब्यापारिक सहयोग र शान्ति स्थापनामा समेत केही योगदान अवश्य हुने थियो ।
प्रतिक्रिया राख्नुहोस्