राजनीति

प्रतिगमन रोक्न निर्वाचनमा पाँचदलीय तालमेल हुनुपर्छ : मसाल

सरकारले संसदबाट अमेरिकी सहायता परियोजना (एमसीसी) पारित गरेपछि सरकारबाट बाहिरिएको नेपाल कम्युनिष्ट पार्टी (मसाल) निर्वाचनमा भने गठबन्धन र तालमेलमै जानुपर्ने बताएको छ ।

पार्टी प्रवक्ता रोशन पुरीले आज एक विज्ञप्ति जारी गरी पार्टी एमसीसी सम्बन्धी विवादका कारणले पाँच दलीय गठबन्धनबाट अलग भए पनि प्रतिगमनको खतरा कायमै रहेकाले सबै तहको चुनावमा पाँच दलीय गठबन्धनका बीचमा तालमेल हुनुपर्दछ भन्ने स्पष्ट मत रहेको बताइएको छ ।

विज्ञप्तिमा पार्टीले त्यसका लागि आफ्ना तर्फबाट इमान्दारितापूर्वक प्रयत्न गर्ने र अन्य पक्षहरूसित पनि त्यसका लागि ध्यान दिनुपर्ने र त्यसो नभएमा देश प्रतिगमनका साथै अधिनायकवादतिर जाने खतरा रहेको बताइएको छ ।

त्यस्तै गठबन्धनको निरन्तरताका सिलसिलामा अर्घाखाँचीमा भएको सहमति र ११ गतेदेखि हुने भनिएको संयुक्त अभियानलाई मसालले सकारात्मक रूपमा लिएको जनइएको छ ।

सो निर्णयबाट एमालेको नेतृत्वमा देखा परेको प्रतिगमनको खतराका विरुद्ध पहिले पाँच दलीय गठबन्धनमा भएका राजनीतिक शक्तिहरू बीचमा चुनावी तालमेलका लागि तथा प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न सकारात्मक योगदान पुग्ने आशा गरिएको छ ।

अर्घाखाँचीमा भएको सहमति र संयुक्त अभियानको कार्यक्रमले प्रतिगमनका विरुद्ध वातावरण तयार पार्न मदत पुर्याए पनि त्यस प्रकारको प्रयत्नलाई अरू ठोस रूप दिनुपर्ने आवश्यकता रहेको मसालको जोड छ ।

त्यसैगरी स्थानीय चुनावमा सिटहरूको विभाजनमा सहमति बन्न सकेमा नै अहिलेको प्रयत्नको सार्थक परिणाम निस्कने र पारस्परिक सहमति र समझदारीका आधारमा स्थानीय तहका सिटहरूको सन्तुलित प्रकारले विभाजन हुन सकेमा नै अहिले देखापरेको सहमति सुदृढ हुनसक्ने र प्रतिगमनलाई पराजित गर्नु सम्भव हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.