नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विश्व कीर्तिमानका लागि एक विकेटको प्रतिक्षामा रहेका छन् । आज पनि युएईबिरुद्ध विकेट लिएर कीर्तिमानको नजिक पुगेका हुन् ।
अफगानिस्तानका राशिद खानले सबैभन्दा कम एकदिवसीय खेलमा लिएको १०० विकेटको कीर्तिमान तोड्न सन्दीपलाई अब एक विकेट मात्र चाहिएको छ ।
खानले४४ एकदिवसीय खेलबाट १०० विकेट लिंदै सबभन्दा छिटो १०० विकेटको कीर्तिमान २०१८ मा बनाएका थिए भने सन्दीपले ४१ खेलबाट ९९ विकेट लिएका छन् ।
काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ को अन्तिम खेलमा युएईबिरुद्ध खेलिरहेको नेपालका लागि सन्दीपले विकेट लिंदै कीर्तिमानको नजिक पुगेका हुन् । सन्दीपले जारी खेलमा ४ ओभर बलिंग गर्दै २५ रन दिएर एक विकेट लिएका छन् ।
सन् २०१९ देखि सुरुआत भएको आइसीसी लिग–२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनमा रहँदै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउने छ ।
यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।





प्रतिक्रिया राख्नुहोस्