सिनेमा हल, डान्सबार, नाइट क्लब तथा खेलस्थल बन्द, ५५ मुलुकबाट यात्रा प्रतिबन्ध, घरबाट बाहिर ननिस्कन सर्वसाधारणलाई आव्हान
मुलुकमा कोरोना संक्रमण हुन नदिन सरकारले मानिसहरुको बढी भिडभाड हुने स्थल बन्द गर्ने निर्णय गरेको छ । त्यसै गरी संक्रमण देखिएका ५५ देशबाट नेपाल आउन प्रतिबद्ध लगाइएको छ ।
बुधबार बसेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले ३० अप्रिलसम्म सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको हो । यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।
बैठकपछि सार्वजनिक निर्णयमा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’
त्यसै गरी होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ । साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।
त्यसै गरी सरकारले कोरोना भइरस (कोभिड-१९) को संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्द्ध लगाइएका मुलुकमा युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात शुक्रबारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ ।
सरकारको यो निर्णयलाई बिस्तारै लक डाउनको अवस्थामा नेपाल पुग्न लागेको संकेत दिएको छ। यद्यपि उपप्रधान तथा रक्षामन्त्री एवं समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताउनुभएको थियो ।
संक्रमणबाट बच्न सरकारले अत्यावश्यक कामबाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान पनि गरेको छ । त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि गरेको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्