राजनीति

एमाले नेपाल-खनाल समूहको भेलाको औचित्य र पार्टी विभाजनको रेखा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) विवभाजनको संघारमा छ । नेकपा हुँदा नै दुई गुटमा विभक्ता एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूह एमाले अस्तित्वमा आएपछि पुरानै समूह संचालन गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई दवाव सिर्जना गरिरहेको छ ।

ओली समूह पनि त्यस्तै गतिविधि गरेर नेपाल समूहलाई दवाव दिइरहेको छ । दुबै पक्षले पार्टीको विधान, विधि र पद्धतिका कुरा गरे पनि पार्टी एकताका कुरा कसैले गरेका छैनन् । एकले अर्कोलाई आआफना गतिविधि रोक्न निर्देशन दिएर अहंकार प्रदर्शन गरिरहँदा पार्टी तीनचिरा हुने सम्भावना बढिरहेको छ ।

हिजो बुधबार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्यो । सो भेलालाई सम्बोधन गर्दै नेता माधवकुमार नेपालले पार्टी सङ्कटमा पुगेकाले बचाउनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको समस्यालाई पार्टीमै छलफल हुनुपर्ने भन्दै पार्टी एकताका लागि मिलेर अगाडि बढ्न आफूले चाहेकोसमेत स्पष्ट पार्नुभयो । उहाँले नेपालको राजनीतिकमा कम्युनिष्ट आन्दोलनको हैसियतलाई जोगाउँदै एमालेलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले पूर्वएमालेलाई बलियो र सुदृढ बनाउनका लागि पार्टीको नवौँ महाधिवेशनबाट तय गरेको विचारलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक क्रान्ति सम्पन्न गरेकाले अब आर्थिक र सामाजिक क्रान्ति पूरा गर्ने कार्यभारमा पार्टी लाग्नुपर्ने आवश्यक रहेको धारणा राख्नुभयो । नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरुको सहभागिता बिना गरिएको फागनु २८ गतेको केन्द्रीय कमिटीको निर्णय सच्चाउनसमेत माग गर्नुभयो ।

“पार्टी अध्यक्षज्यूले आजको भेला स्थगित गर्न भन्नुभयो, हामीले तपाईले फागुन २८ गते बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयबाट पछि हट्नुहुन्छ भने हामी भेला स्थगित गर्न तयार छौँ भनेर भन्यौँ”, उहाँले भन्नुभयो, “तर उहाँले मान्नुभएन, अनि हामीले पनि भेला आयोजना गरेका हौं ।” उहाँले पार्टी विधि, विधान र पद्धतिमा चल्नुपर्ने भन्दै कार्यकर्तालाई भेदभाव गर्न नहुनेसमेत स्पष्ट पार्नुभयो ।

नेता नेपालले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि कार्यकर्तालाई उत्साह र ऊर्जा दिन भेला आयोजना गरिएको बताउनुभयो । पछिल्लो समयमा सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)सँगको एकतालाई मान्यता नदिएपछि पार्टी जुन ढङ्गले चल्नुपर्ने त्यो नचलेको उहाँको भनाइ थियो ।

उहाँले अहिले पार्टीभित्र देखिएको विवाद पदको लडाइँ नभई सिद्धान्त, विधि र पार्टी निर्माणसँग जोडिएको धारणा राख्नुभयो । उहाँले माओवादी केन्द्रसँगको एकता हुनुपूर्वको अवस्थामा पार्टीको सङ्गठनात्मक संरचना, वैचारिक मान्यता, नेतृत्व र सबै सदस्य यथावत रहनुपर्ने बताउनुभयो । “अबदेखि पार्टीलाई विधि, पद्धति तथा क्षमताका आधारमा परिचालन गरिने छ र पार्टीका बैठक कसैका घरमा नबसी पार्टी मुख्यालयमा बस्नुपर्दछ”, उहाँले भन्नुभयो, “त्यसो गरेमा सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिन्छ ।”

भेलामा अर्का नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिँदै फागुन २८ गते गरिएको निर्णय खारेज हुनुपर्नेमा माग राख्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलनलाई बचाउनका लागि पार्टी एकताबद्ध हुुनुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो । उहाँले पार्टीलाई एकताबद्ध बनाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्नेमा जोड दिनभयो । भेलामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष ओलीले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले एकताको प्रस्थानबिन्दु २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संरचनालाई फर्काउनु रहेको बताउनुभयो ।

उहाँले यही चैत ७ गते हुने केन्द्रीय कमिटी बैठकमा सहभागी नहुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले कर्णाली प्रदेशमा सरकारको समर्थन आफूहरुको रहेको जानकारी दिनुभयो । भेला बिहीबारसम्म चल्ने बताइएको छ । पार्टीमा उत्पन्न विषम परिस्थितिका बारेमा छलफल गरी एकिकृत धारणा तय गर्न र त्यसअनुरुप पार्टी पङ्क्तिलाई देशव्यापीरुपमा परिचालन गरी पार्टीलाई सुदृढ, एकताबद्ध र क्रियाशील बनाउन भेला आयोजना गरिएको नेता विष्णु रिजालले जानकारी दिनुभयो ।

१० समूह विभाजन

उहाँका अनुसार भेलामा सातवटै प्रदेश, जनसम्पर्क कमिटी, जनसङ्गठन तथा पेशागत सङ्गठन र केन्द्रीय निकाय तथा विभाग गरी १० समूह विभाजन गरी छलफल गरिएको छ । ती समूहबाट आएका सुझावलाई आधारमानी अवधारणापत्र सार्वजनिक गरिने छ ।

सहभागीको समूह विभाजन तथा छलफलमा सहजीकरण गर्नका लागि प्रदेश नं १ मा भीमप्रसाद आचार्य, प्रदेश नं २ मा घनश्याम भुसाल, वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली, कर्णाली प्रदेशमा योगेश भट्टराई, सुदूरपश्चिम प्रदेशमा भीमबहादुर रावल, सम्पर्क कमिटीमा वेदुराम भुसाल, जनसङ्गठन तथा पेशागतमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.