अर्थ

किसानलाई परिचयपत्र दिने काम तीब्र, परिचयपत्र पाएपछि पाइनेछ यति धेरै सुविधा

विश्वका धनी मुलुकहरुमा किसानलाई सबैभन्दा उच्चदर्जाको नागरिकका रुपमा स्थापित गरिएको छ । किनभने किसानकै कारण आफुहरुको जीवन बचेको उनीहरुको मान्यता छ र यो सत्य पनि हो । तर नेपाल जस्ता कागजमा कृषिप्रधान मुलुकमा भने सबैभन्दा निरीह जीवन बिताउन बाध्य किसानलाई अब भने परिचयपत्र दिएर जीवनस्तर उकास्ने योजना अघि बढेको छ ।

केही समययता किसानलाई परिचयपत्र दिने भन्दैआएको सरकारले यो कार्यक्रमलाई तीव्र गतिमा काम अगाडि बढाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशका ७० जिल्लाका स्थानीय निकायमा परिचयपत्र भर्ने कामको अभिमुखीकरण दिने काम भइरहेको लागि बताएको छ ।

परिचयपत्र वितरणपछि किसानले कति क्षेत्रफलमा कति र कुन खेती गरेका छन् भनेर तथ्याङ्क संकलन हुनेछ । उक्त तथ्याङ्क संकलनपछि किसानका समस्या के, कस्ता छन् भन्ने पहिचान गर्न सजिलो हुने बताइएको छ ।

आउँदो आर्थिक वर्षदेखि कस्तो किसानलाई कुन सुविधा दिने भन्ने किसान परिचयपत्रको आधारमा हुनेछ । परिचयपत्रमार्फत् अनुदान, कृषि उपकरण, रासायनिक मल, बीउलगायत र किसानलाई आवश्यक पर्ने वस्तु सहज रुपमा उपलब्ध हुनेछ । किसानहरुको तथ्याङक संकलनपछि किसानहरुको नामावली समेत थाहा पाउन सजिलो हुनेछ ।

हाल राज्यबाट पाउनुपर्ने अनुदान सहयोग कतिले दुई ठाउँबाट पाउने, कति किसानले एक ठाउँमा पनि नपाउने गुनासो आउने गरेकोमा अब किसान परिचयपत्र पाएपछि सबै डाटामा देखिने भएपछि दोहोरो अनुदान लिने काम बन्द हुने मन्त्रालयको विश्वास छ । सरकारले आर्थिक वर्ष २०७१–०७२ मा ‘किसान परिचयपत्र’ कार्यक्रम ल्याएको थियो ।

यसरी पाउन सकिन्छ किसान परिचयपत्र

किसान परिचयपत्र सरकारले ल्याएको वेभसाइटमा किसानले आफैं पनि भर्न सकिने मन्त्रालयको भनाइ छ । किसानले भर्न नसक्नेको अवस्थामा स्थानीयतहले खटाएका स्वय्मसेवकबाट आफ्नो विवरण भर्न सकिनेछ । अनलाइनमा विवरण भरेसँगै स्थानीय निकाय कार्यालयबाट प्रमाणित गरेसँगै किसान परिचयपत्र आँफै पनि प्रिन्ट गर्न सकिने मन्त्रालयको भनाइ छ ।

कृषि कार्यालय अन्तर्गत कार्यालयमा गएर पनि फर्म भर्न सकिनेछ । साथै, परिचयपत्रको लागि मोबाइल एपबाट पनि भर्न सकिने सुविधाको लागि मन्त्रालयले एप बनाउँदै गरेको मन्त्रालयले बताएको छ । अबको दुई हप्ताभित्र एप बन्ने र मोबाइलबाटै पनि एपमा गएर भर्न सकिनेछ ।

मन्त्रालयका उपसचिव सुजन ढुङ्गेलले सातै प्रदेशमा गएर प्रदेशस्तरीय अभिमुखीकरण काम सम्पन्न गरेर किसानको विवरण संकलन गर्न स्थानिय निकायमा प्राविधिक टोलीलाई अभिमुखीकरण दिने काम संगै विवरण भर्ने काम पनि भइरहेको बताउनुभयो ।

अहिलेसम्म किसान पनि अनलाइनबाट आफैं फर्म काम पनि जारी रहेको मन्त्रालयको भनाइ छ । हालसम्म पाँचसय हाराहारीमा किसानले आफैं अनलाइबाट किसान परिचयपत्र फर्म भरिसकेको मन्त्रालयले जानकारी दिएको छ । अबको केही समयमै पालिकास्तरमा अभिमुखीकरणरको काम सिधिएसँगै धेरै संख्यामा परिचयपत्रको कामले तीव्रता पाउनेछ । यो आर्थिक वर्षभित्रमा सातलाख किसानलाई परिचयपत्र वितरण गर्ने गरी काम भइरहेको मन्त्रालयका उपसचिव ढुङ्गेलले बताउनुभयो ।

पहिलो चरणमा किसानको विवरण संकलन गरेपछि आउँदो वर्षमा किसानले सरकारबाट पाउने सेवा सुविधा पाउने मन्त्रालयको भनाइ छ । पहिला सफ्टवेयर बनाउन र फाइनल गर्न समय लागेकाले अब तोकिएको समयमा काम सिध्याउने गरी काम भइरहेको छ । कृषि मन्त्रालयले किसान परिचयपत्रका लागि चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्था मण्डनदेउपुर १०, काभ्रेको संयोजनमा किसानको अनलाइन डाटा संकलन केही महिना अघि गरेको थियो ।

सम्बन्धित खबर

Back to top button