राजनीति

विदेशी सेना आए अग्रपंक्तिमा बसेर लड्न तयार : गृहमन्त्री खाँड

गृहमन्त्री बालकृष्ण खाँडले एमसीसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम मात्र भएको र कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताउनुभएको छ ।

बिहिबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गर्नुभयो ।

उहाँले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत्उत्पादन गर्न नसकेको बताउनुभयो । “वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ”, उहाँले भन्नुभयो, “नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।”

उहाँले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताउनुभयो । सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उहाँले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताउनुभयो । कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button