जन सरोकार

मनाङमा अझै छैन स्नातक तहको अध्ययन सुविधा

हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्नुहुन्छ, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।”

जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउनुहुन्छ । “जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट जिल्लामा जन्मिएपछि पनि इच्छा पूरा नै नहुने रहेछ”, उहाँले भन्नुभयो, “उच्च शिक्षा हासिल गर्ने रहर रहरमै सीमित भयो, अहिले बाबाआमालाई होटल व्यवसायमा सघाउँदैछु ।”

“जिल्लामा प्लस टुसम्म पढियो, स्नातक तह पढ्न जिल्ला बाहिर जानुपर्छ, खर्च जुटाउनै सकिँदैन”, रिया गुरुङ भन्नुहुन्छ, “इच्छा र चाहना सबै पूरा हुँदैनन् भनेको हो रहेछ, उच्च शिक्षा हासिल गर्ने मन भए पनि हामीले पढ्न पाउँदैनौँ ।”

जिल्लामा नै उच्च शिक्षा अध्ययन गर्न पाउने भएको भए इच्छा पूरा हुने उहाँ बताउनुहुन्छ । त्यस्तै अस्मिता गुरुङ भन्नुहुन्छ, “घाँटी हेरेर हाड निल्नुपर्छ भन्छन्, बाबाआमासँग झगडा गरेर भए पनि उच्च शिक्षा लिन्छुजस्तो हुन्छ नि ! के गर्नु बाबाआमाको दुःख पनि त बुझ्नुपर्यो ।”

“देश विदेशबाट पर्यटक आउँछन् तर, पनि हामी त अभागी हौँ, कति मान्छेलाई हामी मनाङमा बस्ने भनेर खुसी हुन्छन् होला, हामी भने दुःखी छौँ, पढ्नै नपाउने भए पछि कहाँ खुसी हुन सकिन्छ र ?”, अस्मिता भन्नुहुन्छ । यी सबै मनाङका उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी उच्च शिक्षा हासिल गर्न नपाउँदाको दुखेसो हो ।

आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कतिपय अभिभावकले विभिन्न पाठशालामा पु¥याउने गर्दछन् तर, विपन्न तथा विकट जिल्लाका विद्यार्थी भने उच्च शिक्षा आर्जन गर्ने अवसरबाट नै वञ्चित हुने गरेका छन् ।

कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई ठूला सहर तथा उच्च कोटीको विद्यालय, क्याम्पस तथा कलेजमा पठनपाठनका लागि पठाउने गर्दछन् तर, विकट हिमाली जिल्ला मनाङका विद्यार्थी भने उच्च शिक्षा अध्ययनबाट नै वञ्चित हुने गरेका छन् ।

मनाङमा हालसम्म कक्षा १२ सम्म मात्रै अध्यापन हुने हुँदा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई अन्यत्र जानुपर्ने बाध्यता रहेको छ । उच्च शिक्षाका लागि प्लस टु सकिएपछि अन्यत्र जानुपर्ने हुँदा कयौँ विद्यार्थी उच्च शिक्षा लिने अवसरबाट नै वञ्चित भएका छन् ।

जिल्लामा स्नातक तहसम्मको पठनपाठन नहुँदा विशेष गरी विपन्न वर्गका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित भएका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईँले बताउनुभयो । “स्नातक तहको पठनपाठन जिल्लामा नहुँदा यहाँका विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुने गरेका छन्”, चपाईँले भन्नुभयो ।

जिल्लामा शिक्षा र व्यवस्थापन सङ्काय मात्रै अध्यापन गराइने गरिएकामा विगत चार वर्षदेखि कृषि र प्राविधिक धारका विषयको पठनपाठन थालिएको चपाईँले बताउनुभयो । आवासीयरुपमा रहेको चामेस्थित लोकप्रिय माध्यमिक विद्यालयमा प्राविधिक धारका प्राविधिक र कृषि विषयमा अध्यापन भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाका अन्य विद्यालयमा शिक्षा र व्यवस्थापनबाहेक अरु विषयमा पठनपाठनको व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । लोकप्रिय मावि र नासोँ गाउँपालिका–३ स्थित प्रकाशज्योति माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ ।

नासोँ गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा १० सम्म मात्रै अध्यापन हुने गरेको छ । मनाङमा शैक्षिक गुणस्तर वृद्धि तथा उच्च शिक्षाको विकासका लागि समन्वयको भूमिकामा प्रस्तुत भइरहेको चपाईँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गलेले उच्च शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिक्षा विकास तथा समन्वय एकाइको माध्यमबाट छलफल तथा समन्वयात्मक रुपमा प्रत्येक स्थानीय तहसँग छलफलमा रहेको बताउनुभयो ।

“उच्च शिक्षा आर्जन गर्न चाहने विद्यार्थी मौलिक अधिकारबाट वञ्चित नहोस् भनेर समन्वय गरिरहेका छौँ”, प्रजिअ ढुङ्गेलले भन्नुभयो, “जिल्ला बाहिर गएर अध्ययन गर्न सक्ने विद्यार्थीलाई भन्दा विपन्न वर्गका विद्यार्थी नै शिक्षाबाट वञ्चित हुन नपरोस् भनी तदारुकताका साथ प्राथमिकता दिएका छौँ ।”

जिल्लाका राजनीतिक दल, चार वटै पालिकाको शिक्षा शाखामार्फत उच्च शिक्षा अध्ययनका कक्षा आगामी वर्षदेखि सञ्चालनको विषयमा छलफलमै रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लामै उच्च शिक्षा आर्जन गर्न पाउने भएमा जिल्लाका विद्यार्थीमा हुँदै आएको निरासा हट्ने बताइएको छ । जिल्लामा उच्च शिक्षा अध्यापन भएमा परिवारलाई सहयोग गर्दै जिल्लामा नै उच्च शिक्षा हासिल गर्न सहज हुने उनीहरु बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.