राजनीति

अबको निकास निर्वाचन- कांग्रेसको नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउनुपर्ने

संसद भंग गरेर निर्वाचनको घोषणा गर्दा चर्को बिरोध गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु यतिखेर निर्वाचबाट मात्रै मुलुकले निकास पाउने बताउन थालेका छन् । नेताहरु जिल्ला दौडाहाका क्रममा अब कांग्रेस नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउनुपर्ने धारणा राखिरहेका छन् ।

यसै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अब कांग्रेसले सरकारको दाबी गरेर देशलाई निर्वाचनमा लैजानुपर्ने बताउनुभएको छ । वर्तमान सरकारले देशलाई निकास दिनुको सट्टा झनै विनाशतर्फ मोडेकाले अब कांग्रेसको नेतृत्वमा सरकार गठन गरी देशलाई निकास दिनुपर्ने बेला आएको बताउनुभएको हो ।

नेपाल तरुण दल भीरकोट नगर कार्यसमितिले स्याङ्जाको बयरघारीमा आयोजित आमसभामा उहाँले जब मुलुकमा अप्ठ्यारो स्थिति आइपर्छ त्यतिबेला कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको इतिहास रहेको बताउँदै अब पनि देशलाई निकास दिन कांग्रेसले जिम्मेवारी लिनुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।

“स्थिर सरकारको कल्पना गरी नेकपालाई जनताले पाँच वर्षको अवधिका लागि चुनेर पठाएका थिए”, नेता थापाले भन्नुभयो, “जुन अपेक्षा जनताले यो सरकारबाट गरेका थिए त्यो पूरा हुन सक्ने अवस्था नै रहेन बरु विकासभन्दा पनि विनाशतर्फ लैजाने प्रयास भयो, यसलाई अब हामीले रोक्नुपर्ने बेला आएको छ ।”

सभामा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कम्युनिष्टसँग नेपाली कांग्रेसले सहकार्य गर्न नहुने धारणा राख्नुभयो ।

उता नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमासञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउँदै तीन दलबीच सहज बहुमत पुग्ने हुनाले वर्तमान सरकार हट्ने दाबी गर्नुभयो । महामन्त्री कोइरालाले संसद्को निर्वाचनका लागि तीन वर्ष समय रहे पनि नयाँ बन्ने सरकारले निर्वाचनको नयाँ मिति घोषणा गरी आगामी मङ्सिरमा निर्वाचन गर्ने सम्भावना रहेको छ भन्नुभयो ।

महामन्त्री कोइरालाले वर्तमान सरकारले संसद् विघटन गरेको हुनाले यसलाई कुनै पनि हालतमा समर्थन नगर्ने प्रष्ट पार्दै विगत तीन वर्षमा जनता खुशी हुने कार्य सरकारले नगरेको आरोप लगाउनुभयो । उहाँले कांग्रेसको महाधिवेशन घोषित मिति आगामी भदौमा सम्पन्न हुनेछ भन्दै यसका लागि क्रियाशील सदस्यको नवीकरणको कार्य भइरहेको जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button