राजनीति

प्रधानमन्त्री ओलीले साँझ सम्बोधन गर्ने- संकटकाल घोषणाको सम्भावना !

शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा सम्बोधन गर्नुहुने भएको छ । पछिल्लो समय कोरोना भाइरसले विश्वको तीन तिहाई मुलुकलाई आक्रान्त पारिसकेपछि नेपालमा यसको प्रभाव न्यून गर्न आवश्यक सबै कदम चाल्न सरकार तयार भएको र यसका लागि संकटकाल घोषणा हुनसक्ने बताइएको छ ।

नेपालमा अहिलेसम्म एकजनामा कोरोना देखिएको र उनी निको भएर फर्किसकेपछि ५ सयभन्दा बढीमा गरिएको परीक्षणमा कसैमा पनि संक्रमण देखिएको छैन । तर पनि कोरोनाको संक्रमण कुनबेला कसरी महामारीको रुपमा देखापर्छ भन्ने दृष्टान्त इटालीमा देखिएका कारण सरकार आवश्यक सबै कदम चाल्न तयार भएको संकेत गरेको छ । प्रधानमन्त्री ओलीले जनतालाई आश्वस्त । आग्रह गर्दै महामारीबाट बच्न र बचाउन आवश्यक सहयोगको अपील गर्नुहुने अपेक्षा छ ।

शुक्रबार विहान प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग छलफल गरेपछि उहाँले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्न र आवश्यक कदमका बारमा जानकारी दिन लाग्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणबाट मुलुकलाई जोगाउने सन्दर्भमा कुनै कमजोरी हुन नदिन पोखरेललाई निर्देशन दिनुभएको थियो । समितिको बुधबारको बैठकबाट एसईई स्थगनलगायतका महत्वपूर्ण निर्णय लिनुभएका पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहनुभएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले केही समयका लागि सबै सीमानाका बन्द गर्नेबारे भारतसँग छलफल गरिरहनुभएको छ ।

त्यस्तै सर्वसाधारणको भिडभाड र मास मोबिलाइजेशन रोक्न अत्यावश्यक सेवा बाहेकका कार्यालय र सार्वजनिक यातायातहरु बन्द गर्नेबारे पनि छलफल भइरहेको छ । जनतालाई घरबाट बाहिर निस्कन नपर्ने अवस्था सिर्जना गरेर मुलुकलाई लक डाउन गर्नेबारेमा छलफल भइरहेको स्रोतले जनाएको छ । उच्चस्तरीय बैठकपछि सरकारले थप कदम उठाउने र मुलुकलाई लक डाउनतर्फ लगेर सुरक्षत राख्नेबारे प्रधानमन्त्रीसँग परामर्श भएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ रेडियो नेपाल र नेपाल टेलिभिजनमार्फत जनतालाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताउनुभएको छ । प्रधानमन्त्रीको सम्बोधनलगत्तै उपप्रधानमन्त्री पोखरेलले उच्चस्तरीय समिति बैठक राखेर थप निर्णय गर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.