‘बगरमा श्रम नगरी बल्दैन चुल्हो’
महेन्द्रनगर, भीमदत्त नगरपालिका–१२ ओदालीका जानकी कामी दुई नाबालक छोरा घरमा छाडेर प्रचण्ड गर्मीलाई समेत बेवास्ता गरी महाकाली नदीको बगरमा बालुवा छान्दै गरेको अवस्था भेटिनुभयो ।
पारिवारिक समस्याले दैनिक गुजारा चलाउन सकस हुन थालेपछि विगत चार वर्षदेखि नदीको बगरमा श्रम गरिरहुनुभएकी उहाँले दुई वर्ष भने कोरोना महामारीका कारण काम गर्न नपाएको बताउनुभयो ।
“श्रीमान् सहचालकको काममा हुनुहुन्छ, म चाँही दुई नाबालक छोरा आमालाई हेरचाह गर्न लगाएर बालुवा र गिट्टी छान्न यहाँ आउँछु ।” बगरमा भेटिनुभएकी कामीले भन्नुभयो, “यस्तो गर्मीमा बगरमा कष्टपूर्ण काम गर्ने कस्लाई रहर हुन्छ र बाध्यताले यहाँ आएको हूँ ।”
उहाँले बगरको कमाईले छोराहरुका लागि कापी, कलमका साथै दैनिक रासन किन्ने गरेको बताउनुभयो । जानकी जस्तै यहाँ दलित र विपन्न समुदायका अधिकांश महिला यतिबेला महाकालीमा बालुवा र गिट्टी छान्दै छन् ।उक्त नदीको तटीय क्षेत्रका साथै कञ्चनपुरको शुक्लाफाँटा, बेल्डाँडी र बेलौरी नगरपालिकालगायत क्षेत्रका वासिन्दा दैनिक गुजारका लागि बालुवा छान्न आएका भेटिनछन्
बेल्डाँडी र बेलौरीबाट आएकाहरु बगरमा झोपडी बनाएर श्रम गरिरहेका छन् । महाकाली नदीमा मजदुरी गर्नेहरुबाट प्रति ट्रली बालुवा रु एक हजार र गिट्टी रु दुई हजारमा बिक्री भइरहेको छ ।
“यो पालि त निर्माण सामग्री महँङ्गो भएर हो कि के हो? ट्र्याक्टहर पनि बालुवा, गिट्टी लिन धेरै आएका छैनन् ।” भीमदत्त नगरपालिका–१३ बडैपुरका ७० वर्षीय नरी परीले रासससित भन्नुभयो, “एक हप्ता भयो, सङ्कलन गरेको सामान नै बिक्री भएको छैन् ।”
आफन्तले दिएको तटीय क्षेत्रको घडेरीमा झोपडी बनाएर बस्नुभएका बाजुराका परीले पनि आफ्नो रोजगारीको गन्तव्य नै नदीको बगर भएको बताउनुभयो । “पहाड बाजुरा घरमा खोलाले छोरा बुहारी नै बगाए पछि म विरक्त भएर यहाँ झरे,” उहाँले भन्नुभयो, “कोरोनाका बेला राहतले भोक टर्यो, अहिले नदीमा वालुवा छान्दै छु ।”
असोजदेखि जेठ मसान्तसम्म बगरमा श्रम गर्दै आउनु भएका उहाँले असोजदेखि भदौसम्म भने गाउँमा ज्याला मजदुरीमा लाग्ने गरेको बताउनुभयो । महाकाली नदीमा उत्तर भुजेलादेखि दक्षिणमा बडैपुरसम्म दैनिक चार–पाँच सय मानिसहरु बालुवा/गिट्टी छान्न व्यस्त देखिन्छन् ।
त्यसैगरी बडैपुरकी ६८ वर्षीया वैशाखी सुनार पनि बगरमा तीन पुस्तासँगै वालुवा छान्दै गरेको अवस्थामा भेटिनुभयो । “यो पालि महाकाली नदीमा आएको बाढीले धानको दानासम्म देख्न पाएनौँ,” उहाँले भन्नुभयो, “के गर्ने हजुर, दिनभरि बगरमा काम नगरी बेलुकी घरको चुल्हो बल्दैन् ।”
बुहारी र २१ वर्षीय नातिनीसहित बगरमा श्रम गरेको एक दशक नाघेको सुनारको भनाइ थियो ।“छोराले बुहारी छाडेर अन्तै विवाह गरेर हिँड्यो, बुहारी र नातिनी लिएर काम गर्दै जीविका चलाउँदैछु,” उहाँले भन्नुभयो, “नातिनी अञ्जुले पनि घरको अवस्थाले तीन वर्षअघि दश कक्षामै पढाइ छाड्नुभयो ।”
आमा र बज्यैसित बालुवा छान्दै गरेकी अञ्जुले पनि बगरमा काम गर्न आउनु आफ्नो बाध्यता भएको सुनाउनुभयो । “कुनै सीप सिकेर आयमूलक काममा लाग्न पाएको भएको भए हुन्थ्यो भन्ने सोचमा छु ।” अञ्जुले भन्नुभयो, “तर के गर्नु माथिल्लो तहमा आफ्नो पीडा सुनिदिने कोही भएनन् ।”उहाँले बस्तीमा कोरोनाका बेला राहतस्वरुप खाद्यान्न पाए पनि आफ्नो परिवारलाई बेवास्ता गरिएको दुःखेसो गर्नुभयो । “हिजोआज बिहान ६ बजे आएर साँझ ७ बजेसम्म बगरमै वालुवा छान्छौँ,” अञ्जुले भन्नुभयो, “घरका सबै यहाँ आएर काम गर्दा मुस्किलले घर खर्च चलेको छ ।”
त्यस्तै बडैपुरकी जुना लुहार पनि आधा दशकदेखि बगरकै काममा पाएको ज्यालाको भरमा जीविका चलाउनुहुन्छ । “दालचामलदेखि छोराछोरीको कापीकलमका लागि बगरमा काम नगरी हँुदैन,” उहाँले भन्नुभयो, “बालुवा र गिट्टीको समयसापेक्ष मूल्य भएन ।”निकै कष्ट गरेर छानेको बालुवा अन्यत्रभन्दा सस्तोमा बिक्री गर्नु परेको लुहारको भनाइ थियो । दलित र विपन्न समुदायसँगै तटीय क्षेत्रका अन्य समुदायका महिला तथा पुरुष पनि फुर्सदका बेला बगरमा बालुवा÷गिट्टी छान्न जाने गरेको स्थानीयवासीको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्