जन सरोकार

जब हेडसरले गुरुदक्षिणाका रुपमा असल चरित्र माग्नुभयो

एउटा शिक्षकका लागि आफ्ना विद्यार्थीहरु असल चरित्रका हुनु नै आफ्ना लागि गुरुदक्षिण हुने बताउनुभयो सहभागी पूर्व विद्यार्थीहरुको आँखा रसाए । अरुणोदय माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज आरुबारी काठमाडौंले आयोजना गरेको पुनर्मिलन तथा वनभोज कार्यक्रममा सोही विद्यालयमा ४० वर्ष अध्यापन गर्नुभएका र झण्डै तीन दशक प्रधानाध्यापकका रुपमा सेवा गर्नुभएका पुरुषोत्तम ढुंगानालाई प्रमुख अतिथिका रुपमा आसनग्रहण गराए हेडसरमा खुसीको सीमा थिएन भने पूर्व विद्यार्थीहरु पनि उत्तिकै खुसी देखिए ।

वनभोज र पुनर्मिलन कार्यक्रम रमाइलो, नाचगान त छँदैथियो त्यसमाथि आफ्ना महान गुरुलाई साथमा पाउँदा र उहाँका जीवनोपयोगी आशिर्वचन सुन्न पाउँदा हर्षको सीमा रहेन ।

शिक्षा सेवामा ४० वर्ष बिताउनुभएका हेडसर र झण्डै त्यति नै वर्षदेखि शिक्षण कार्यमा लाग्नुभएकी रीता मिसको उपस्थितिले वनभोज अत्यन्त अनुशासित बनेको थियो । लामो समयदेखि छुटेका साथीहरुबीच पुनर्मिलन हुँदा उनीहरुमा खुसीको सीमा थिएन । समाजले चाहेको पनि त्यही थियो ।

रमाइलोकाबीच आफ्ना विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानाध्यापक पुरुषोत्तम ढुंगानाले आफ्ना लागि बाटोमा भेट्दा मुसुक्क हाँसेर बोलिदिए पुग्ने बताउँदै असल चरित्र निर्माण नै सफल जीवनको आधार हुने भन्दै सबैलाई त्यही बाटोमा हिंड्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो– “मेरा लागि अरु केही चाहिंदैन, बाटोमा हिंड्दा मुसुक्क हाँसेर बोलिदिए पुग्छ । गरिखाने अनेक बाटाहरु हुन्छन्, आज यहाँ उपस्थित मेरा भाइबहिनीहरु विविध क्षेत्रमा सक्रिय छन् यो खुसीको कुरा हो तर सबैभन्दा महत्वपूर्ण पक्ष भनेको असल चरित्र निर्माण हो र यसका लागि सबै सचेत हुनैपर्छ । धन सजिलै कमाउन सकिन्छ, र सजिलै गुम्छ पनि तर असल चरित्र निर्माण गर्न सजिलो छैन र चरित्र गुम्यो भने जीवनको सार्थकता रहँदैन ।”

कार्यक्रममा शिक्षिका रीता रायमाझीले जीवन, जगत र मानव कर्तव्यका विषयमा लामो व्याख्या गर्दै जीवनको महत्वपूर्ण मोडमा आइपुगेका पूर्व विद्यार्थीहरु उच्च ओहदादेखि व्यावसायिक जीवन बिताइरहेका पूर्व विद्यार्थीहरुले गरीब र जेहेन्दार विद्यार्थीहरुको अध्ययन सहज बनाउन सघाउनुपर्ने सुझाव दिनुभयो ।

अनौपचारिक कार्यक्रमलाई औपचारिकता दिंदै समाजका अध्यक्ष त्रिलोचन पौड्यालले समाज गठनको उद्देश्य, गरिएका कार्यहरु र भावी योजना सुनाउनुभयो विद्यार्थीहरुले कर्तल ध्वनिका साथ साथ र सहयोगको प्रतिबद्धता जनाइरहँदा हेडसर र रीता मिसको मुहारमा चमक छाएको थियो ।

ज्ञानको घरका रुपमा रहेको विद्यालयमा अध्ययन गरेका सबै पूर्व विद्यार्थीहरु एकै परिवारको सदस्य भएकाले आफ्नो घर सपार्ने जिम्मा सबै विद्यार्थीहरुको कर्तव्य हो । आफु अध्ययन गरेको विद्यालयको शैक्षिक स्तर उकास्न र यहाँ अध्ययनन गरिरहेका आर्थिक अवस्था कमजोर रहेकका विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिन समाजले पहल गर्ने र केही आर्थिक सहायताको घोषणा समेत गरिएको थियो ।

सम्बन्धित खबर

Back to top button