स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।”

सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भन्नुभयो ।
उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भन्नुभयो । प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।
कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजङ्ग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा रु २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने जानकारी दिनुभयो । झन्डै तीन दशकअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज हुनुपर्ने माग पनि उहाँले गर्नुभयो ।
उपप्रमुख धनमाया तामाङले यो नगरपालिकामा मिश्रित समुदाय र धर्मका मानिसहरु बसोबास गर्ने भएकाले यहाँको सौन्दर्य नै समाजिक सद्भाव बलियो छ भन्नुभयो ।
यसैगरी, प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैचा नगरपालिका–१ स्थित नवनिर्मित नगर अस्पतालको उद्घाटन गर्नुभयो । सो अवसरमा नगरप्रमुख ढकालले ३५ शय्याको सो अस्पतालबाट यस क्षेत्रका नागरिक निकै लाभान्वित हुने बताउँदै नेपाल सरकारको मापदण्डअनुसार अस्पताल निर्माण भएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गादाता र अतुलनीय कार्य गर्नुहुने विभिन्न महानुभावलाई सम्मान पनि गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्