राजनीति

घनश्यामलाई ओलीको जवाफ- “कहाँ छ देशमा वाम ?”

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा वाम पार्टी नै नभएकाले वाम एकताको सम्भावना नरहेको तर चुनावी एकता भने हुनसक्ने बताउनु भएको छ ।

सोमबार एमाले पोलिटब्यूरोको पहिलो बैठकमा एमाले नेता घनश्याम भुसाल र रघुजी पन्तले चुनावमा वाम एकता गर्नुपर्ने प्रस्ताव गरेपछि अध्यक्ष ओलीले सो जवाफ दिनुभएको हो ।

अध्यक्ष ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थप्नुभएको थियो ।

भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष ओली निकट नेताहरू खण्डनमा बोलेका थिए । हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरेका थिए ।

नेता पन्तले कम्तिमा एमाले वाम एकताको पक्षमा रहेको सन्देश दिएर अगाडि बढ्नुपर्ने प्रस्ताव राख्नुभएको थियो भने भूसालले चुनावमा एकता र वाम एकता गर्नुपर्ने तीन कारण बैठकमा राख्नुभएको थियो ।

उहाँहरुको धारणापछि बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टी एकता नहुने जवाफ जवाफ दिंदै चुनावी एकता भने हुने बताउनुभयो । उहाँले अहिले वामपन्थी एकता हैन चुनावी एकता हुने स्पष्ट पार्नुभएको छ ।

यसै गरी बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरोबाट पारित भएको छ ।

रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेद्वार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत एजेण्डा केन्द्रीय कमिटी बैठकमा पेश गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button