आगामी २०२३ मा भारतमा हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट चरण समेत रहेको आईसीसी विश्व लिग-२ को तीन खेलमा नेपालको प्रदर्शन बिर्सन लायक रह्यो ।
पहिलो खेल पपुवा न्यूगिनीमाथि जित हात पारे पनि युएईसंगको दुई खेलमा नेपालले लज्जस्पद हार व्यहोर्यो । यसअघि टी २० विश्वकप छनोटमा पनि नेपालको अवस्था यस्तै थियो र युएईले नै छनोट हुनबाट रोकेको थियो ।
खेलाडीमाथिको कारबाही, कप्तान परिवर्तन लगायतका विवादले खेलाडीहरुको मनोबल घटिरहेकै बेला ओमान र युएई भ्रमणमा यसको प्रत्यक्ष असर देखिएको खेल पण्डितहरु बताउँछन् ।
सोमबार युएईमा सम्पन्न लिगतको तेस्रो खलमा नेपाल युएईसंग ९९ रनको लज्जस्पद हार व्यहोर्न पुगेको छ । लिगकोा पहिलो खेलमा युएईले दिएको १६९ रनको लक्ष्य समेत भेट्टाउन नसकेको नेपालले आज २०३ रनको विजयी लक्ष्य पाएको थियो ।
२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन ।
युएई विरुद्ध बनाएको १०३ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो । युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरी राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्ले मा ४ विकेट गुमाएको थियो ।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए ।
यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा बउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे । यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेल आज व्यक्तिगत ९ रनमा आउट भए ।
नेपालले १० ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन बनाएको थियो । त्यसपछि ज्ञानेन्द्र मल्ल र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । पाँचौ विकेटका लागि ज्ञानेन्द्र र रोहितले ३३ रनको साझेदारी गरे । आरिफ २१औं ओभरमा १५ रन बनाएर बउट भए ।
आरिफ आउट भएपछि नेपालको इनिङ्स धर्मारायो । त्यसपछि नेपाली इनिङ्स सम्हालिन सकेन । ज्ञानेन्द्र मल्ल पनि २५औं ओभरमा आउट भएपछि नेपालले ६९ रनमा छैटौँ विकेट गुमायो ।
ज्ञानेन्द्रले ६५ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । आरिफ र ज्ञानेन्द्र दुवैलाई युएईका कप्तान अहेमद राजाले आउट गरे । विनोद भण्डारी १२ रन बनाएर आउट भए । करण केसी ४ रनमा आउट भए ।
नेपालले एक सय रन पूरा गरेपछि नवौँ विकेट गुमायो । सोमपाल कामी १५ रन बनाएर ३५औं ओभरमा आउट भए । कप्तान सन्दीप लामिछाने ३६औं ओभरको पहिलो बलमा खाता नखोली आउट भए ।
नेपाललाई अलआउट गर्न युएईका लागि जुनैद सिद्दिकीले ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । यस्तै कासिफ दाउद र अहमेद राजाले समान २ विकेट लिए ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका बलरहरुले आफ्नो क्षमता अनुसार प्रदर्शन गरेका थिए । युएईलाई २०२ रनमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए भने सोमपाल कामी र करण केसीले दुई–दुई विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले एक–एक विकेट लिएका थिए ।
प्रतिक्रिया राख्नुहोस्