विश्व समाचार

इटालीमा एकैदिन आठसयको मृत्यु, अमेरिकामा संक्रमतिको संख्या तीब्ररुपमा बढ्दै

विश्वमै सर्वाधिक कोरोना भाइरसको संक्रमण भएको मुलुक इटालीमा शनिबार एकै दिन आठ सयजनाको मृत्यु भएपछि संक्रमण रोक्न इटालीले आफ्नो अति प्रभावित लोम्बर्डी क्षेत्रमा थप कडा नियमको घोषणा गरेको छ । लोम्बर्डीमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ ।



शनिबार अबेर भएको घोषणा अनुसार घर बाहिर कुनै पनि प्रकारको खेल तथा शारिरिक गतिविधि (व्यक्तिगतसमेत) गर्न पाइने छैन । यसैगरी ‘भेन्डिङ मेसिन’को प्रयोगमा पनि उसले प्रतिबन्ध लगाएको छ । हालसम्म इटालीमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । यो कुनै पनि देशमा कोरोना भाइरसबाट भएको सर्वाधिक मृत्यु हो ।

त्यहाँ ५३ हजार ५ सय ७८ जनामा संक्रमण पुष्टि भइसकेको छ । यसैगरी ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् । पूरै इटालीमा लोम्बार्डी सबैभन्दा बढी प्रभावित क्षेत्र हो जहाँ संक्रमण फैलिएयता ३ हजार ९५ जनाको निधन भइसकेको छ ।

उता अमेरिकामा बितेका २४ घण्टामा अमेरिकामा धेरै नयाँ संक्रमित भेटिएका छन् । बितेको २४ घण्टामा त्यहाँ ७ हजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसँगै अमेरिकामा कुल संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ । अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३ सय ४० जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो विश्व विवरण अनुसार हालसम्म २ लाख २० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने झण्डै ९ हजार जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित खबर

Back to top button