सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नाकामा उच्च शतर्कता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्नसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै भारतमा कोरोना भाइरस सङ्क्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गर्नुभएको हो । सङ्क्रमित बढ्न सक्ने भएकाले सभा, गोष्ठी, जुलुस, भेला, जमघट, सेमिनार, बैठक तथा भीडभाड हुने व्यावसायिक कार्यहरू नगर्न विज्ञप्तिमा उल्लेख छ ।
भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्रोसँग हात धुन, स्यानिटाइजरको प्रयोगलगायत मापदण्डको अनिवार्यरूपमा पालना गर्न मन्त्रालयले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल–भारत स्थल सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई थप सक्रिय बनाउने निर्णय गरेको छ । मन्त्रालयले ७७ वटै स्थानीय प्रशासनलाई गृह मन्त्रालयमार्फत पत्र पठाउँदै हाइ अलर्टमा रहन निर्देशन दिएको छ ।
भारतमा दिनानुदिन बढ्दै गइरहेको कोरोना सङ्क्रमणले नेपालमा जोखिम बढ्न सक्ने आकलन गरेर १४ वटै सीमा नाकाका हेल्थ डेस्कलाई थप सक्रिय बनाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।
भारतबाट आउनेहरूलाई लक्षण तथा जोखिमको प्राथमिकता निर्धारण गरी एन्टिजेन परीक्षण गर्नसमेत निर्देशन दिएको उहाँले बताउनुभयो । पछिल्लो समय भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ ।
भारतबाट आउने नागरिकलाई लक्षण र सम्भावित जोखिमको आधारमा एन्टिजेन परीक्षण गरी सीमा नाकामा क्वारेन्टाइन र स्थानीय तहमा संस्थागत वा होम क्वारेन्टाइन राख्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।
भारतमा पछिल्लो समय एकै दिन ४३ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । नेपालमा विगत २४ घण्टामा ७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ९०६ पुगेको छ । हालसम्म कोरोनाबाट तीन हजार १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्