जन सरोकार

उपत्यका लगायत देशका प्रमुख शहर सुनसान- घरबाहिर निस्कनेलाई छ महिना कैद सजाय

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका लगायत देशका प्रमुख शहर सुनसान बन्दै गएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा ९२० बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताउनुभयो । “लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् ”, उहाँले भन्नुभयो ।

जनताको समर्थन

लक डाउनपछि बिहानैदेखि मानिसको आवतजावत रोकिएको छ भने सर्वसाधारणको पूर्ण समर्थन देखिएको छ । सामाजिक सञ्जालमार्फत सर्वसाधारणले सरकारको निर्णयको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले आदेश कडाइका साथ पालना गराउनतर्फ सामाजिक सञ्जालबाट सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् । सुरक्षा निकाय पनि आदेशको पालना गराउन कडाइका साथ लागेको छ । आदेश कार्यान्वयनका लागि बिहानैदेखि प्रहरीको सक्रियता बाक्लिएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले भन्नुभयो, “आम पब्लिकहरुबाट आदेशको पालना गरिरहेको पाइन्छ, जानी नजानी कतै पालना नगरेकालाई सम्झाइबुझाई गरेर फर्काएका छौँ ।” उहाँले मुलुकभर नै आवश्यकतानुसार टोली परिचालन गरेर आदेशको पालनामा प्रहरी सक्रिय भएको जानकारी दिनुभयो । प्रदेश र स्थानीय तहका प्रहरी पनि आवश्यक क्षेत्रमा परिचालन भइरहेको उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि प्रहरी चोकचोकमा खटिएर सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिरहेका छन् । प्रहरीले उपत्यकाका चोक तथा भित्री सडकमा समेत माइकिङ गरेर सावधानी अपनाउन र घरबाट ननिस्कन अनुरोध गरिरहेको छ । “सावधानी अपनाउनुहोला, घरबाट ननिस्किनुहोला” भन्दै प्रहरीले खुलेका पसलसमेत बन्द गर्न भनिरहेको छ ।

ट्राफिक प्रहरी पनि आवश्यक व्यवस्थापनमा बिहानैदेखि खटिएको छ । महानगरीय प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सरकारी आदेशको पालनाका लागि सम्पूर्ण ट्राफिक जनशक्ति परिचालन गरिएको बताउनुभयो । अत्यवश्यक सेवा र पासका गाडी मात्रै चलेकाले अन्य गाडी चल्नबाट रोक लगाइएको र सर्बसाधारणलाई घरबाट ननिस्कन आग्रह गरिएको उहाँले बताउनुभयो ।

गत माघ ९ गते चीनको हुबेइ प्रान्तको वुहान शहरबाट आएका र यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपालमा आएका गरी दुई जनामा कोरोना लक्षण देखिए पनि नेपालमा अन्यमा सङ्क्रमण भेटिएको छैन । सम्भावित जोखिम रोक्न सरकारले यही चैत १८ गतेसम्मका लागि उक्त आदेश जारी गरेको हो ।

सरकारले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड­१९ को रोकथाम र निर्मूूल गर्न सोमबार अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको हो । आज बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म उक्त आदेश लागू हुनेछ ।

आदेशमा ‘औषधोपचार, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन’ भनिएको छ । अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइने पनि आदेशमा उल्लेख छ । आदेश जारी भएसँगै सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानबाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडान बन्द गर्नुपर्नेछ ।

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुनेछन् ।

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीलाई बिदा दिन आदेशमा भनिएको छ ।

औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गरिने तथा अभाव देखाई मूूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारवाही गरिने आदेशमा भनिएको छ । जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐनबमोजिम सजाय हुने जनाइएको छ ।

सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.