दैनिक पठनपाठन भीडभाड नहुने गरी संचालन गर्न शिक्षा मन्त्रालयको निर्देशन
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि विद्यालयहरुलाई दैनिक पठनपाठन भीडभाड नहुने गरी र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्रै संचालन गर्न शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले अनुरोध गरेको छ ।
त्यसै गरी मन्त्रालयले साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न, नगराउन निर्देशन दिंदै ‘विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७’ को पूर्ण रूपमा अनुशरण गर्न र उक्त कार्याढाँचाको अधीनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गर्न, गराउन मन्त्रालयले जोड दिएको छ ।
बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित सरोकारवालाहरूको छलफलपछि कोभिड–१९ को संक्रमण र त्यसबाट हुने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश तथा स्थानीय तहहरूले समेत निर्धारण गरेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिवदीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका क्रियाकलापमा पर्न सक्ने प्रतिकूल असरप्रति मन्त्रालय गम्भीर बनेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नुहुन, शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुनपानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउनु हुन अनुरोध गरिन्छ ।’
प्रतिक्रिया राख्नुहोस्