जन सरोकार

कता गए पौने पाँच लाख घरका परिवार ?

२०७२ सालको विनाशकारी भूकम्पका कारण देशभर ७ लाखभन्दा बढी घर भत्किए । भत्किएका ती घरको लगभग पुनःनिर्माण सम्पन्न भैसकेको तथ्यांक रहे पनि नेपालमा झण्डै पाँच लाख घरमा मान्छे नै नबस्ने गरेको पनि पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक भएपछि यो तथ्य खुलेको हो । नतिजा अनुसार नेपालमा ७५ लाख ५२ हजार ६६ घरमध्ये ४ लाख ७२ हजार ५ सय १६ घर खाली देखिएका छन् ।

जनगणना विवरण अनुसार खाली घरमध्ये पहाडमा आधाभन्दा धेरै देखिन्छन् । पहाडी क्षेत्रमा २ लाख ६० हजार ९ सय १६ (५५.२ प्रतिशत) घर खाली छन् । यस्तै हिमालमा ५९ हजार ९४२ (११.७ प्रतिशत) घर खाली भने तराईमा १ लाख ५१ हजार ६५८ (४.१ प्रतिशत) घर खाली छन् ।

पालिका अनुसार हेर्ने हो भने नगरपालिकामा खाली घरको संख्यामध्ये २ लाख ५७ हजार ११२ (५.४ प्रतिशत) घर खाली छन् भने गाउँपालिकामा २ लाख १७ हजार ४ सय ३६ (४६ प्रतिशत) घर खाली देखिन्छन् ।

प्रदेश अनुसार खाली घरमध्ये सबैभन्दा धेरै घरखाली बागमती प्रदेशमा देखिन्छ । जहाँ ३० दशमलव २ प्रतिशत घर खाली छन् । सबैभन्दा कम मधेश प्रदेशमा ४ प्रतिशत घर खाली देखिन्छ ।

जनगणना नतिजाले पनिन पहाडको जनसंख्या घट्दै गएको र तराईमा बढ्दै गएको देखिएको छ भने खाली घर पनि पहाडमा धेरै रहेको छ । खाली भएका ती घरका परिवार कहाँ गए भन्ने अर्को खोजीको विषय बनेको छ ।

त्यसो त जनगणना नतिजामा नै पहाडी र हिमाली क्षेत्रमा जनसंख्या कम हुँदै गएको र तराईमा बढिरहेको देखाएको हुँदा अधिकांश मानिस बाँच्नकै लागि आफ्नो जन्मथलो छाडेर अन्यत्र गएको बुझ्न कठिन छैन ।

मुलुकका हिमाली, पहाडी र तराईका दुर्गम गाउँ बस्तीहरुमा शिक्षा, स्वास्थ्य तथा रोजगारीको राम्रो प्रबन्ध हुन्थ्यो भने जनसंख्याको चाप सुविधा भएका भनिएका ठाउँहरुतिर अर्थात् शहरी क्षेत्रमा मात्र बढ्ने थिएन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.