एन आर एन न्युज

एनआरएनएमा भागवण्डा मिलाउन पालैपालो अध्यक्ष

विश्वभर छरिएर रहेका नेपालीहरुको साझा र कल्याणकारी संस्थाका रुपमा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पनि नेपालका राजनीतिक दल जस्तै विभाजन र गुटको शिकार भएको छ ।

आइतबार सम्पन्न अधिवेशनले एनआरएनएमा अध्यक्षका दावेदार तीनजनालाई नै अध्यक्ष बनाउँदै एकजनाले ६ महिना कार्यभार सम्हाल्ने गरी नेतृत्व चयन गरिएको छ ।

संघको दसौं अन्तर्राष्ट्रिय महाधिवेशनबाट पहिलो कार्यकालको नेतृत्व कुल आचार्यले गर्नेछन् । त्यसपछि रविना थापा र बद्री केसीले क्रमशः पालैपालो ६–६ महिना कार्यकाल सम्हाल्ने संघले जनाएको छ । अध्यक्षमा आकांक्षी धेरै भएपछि यसरी पहिलो पटक भागबन्डामा आलोपालोमा अध्यक्ष चुनिएको हो ।

संघको विधान संशोधन गरेर अध्यक्षसँगै उपाध्यक्ष र सचिवको संख्या पनि बढाइएको छ । संघको विधानको धारा १७ (२) र १७ (१०) को व्यवस्था हाललाई निष्क्रिय गरी कार्यसमितिको पद र संख्या निर्धारणसहित घोषणा गर्ने सबै अधिकार अध्यक्ष मण्डललाई प्रदान गर्ने निर्णयअनुसार यस्तो व्यवस्था गरिएको हो ।

संशोधित व्यवस्था संघको यसपछि (सन् २०२३) को कार्यसमितिको निर्वाचन प्रक्रिया अगाडिको समयसम्म मात्र लागू हुने जनाइएको छ । त्यसपछि यो व्यवस्था स्वतः निष्क्रिय हुनेछ ।

११ जना उपाध्यक्षमा भूषण घिमिरे, डीबी क्षत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ, हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा छन् । त्यस्तै दुई महिला उपाध्यक्षमा विष्णुमाया परियार र यस्मिन बेगम छन् ।

युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चुनिएका छन् । महासचिवमा गौरीराज जोशी र केशव पौडेल छन् । उपमहासचिवमा गणेश केसी, देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिंखडा र विनय अधिकारी छन् ।

त्यस्तै १० जना सचिवमा चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खड्का, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी चयन भएका छन् । महिला दुई सचिवमा अलिनी पोखरेल र टीका गुरुङ छन् ।

यसै गरी कोषाध्यक्षमा ३, सहकोषाध्यक्षमा ८, महिला सहकोषाध्यक्षमा ३, प्रवक्ता २, महिला संयोजक, युवा संयोजक र क्षेत्रीय संयोजक २र२ जना चुनिएका छन् । क्षेत्रीय उपसंयोजक युरोप क्षेत्र ७ र अन्य क्षेत्र ५, क्षेत्रीय महिला संयोजक २, क्षेत्रीय युवा संयोजक २ जना छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.