राजनीति

रोल्पा पुगेर प्रचण्डको हुँकार- गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने

सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज रोल्पा पुगेर आउँदो स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताउनुभएको छ ।

आसन्न स्थानीय तह निर्वाचन र त्यसपछिका संघीय संसद र प्रदेशको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताइरहे पनि  ७ वर्षपछि रोल्पा पुग्नुभएका अध्यक्ष प्रचण्डले आफ्नै तागतमा स्थानीय निर्वाचन लड्ने तर अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगरिने बताउनुभएको हो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा सोमबार आयोजित पत्रकार भेटघाटमा उहाँले आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्ने बताउँदै महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत गर्नुभयो ।

जनयुद्धको सुरुवात गरेको रोल्पामा आमसभालाई सम्बोधन गर्न आउनुभएका प्रचण्डले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय गरिए पनि गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने स्पष्ट पार्नुभएको हो ।

त्यस क्रममा अध्यक्ष प्रचण्डले रोल्पा नगरपालिकाले सातदोबाटोमा करिब ६ करोडमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन समेत गर्नुभयो ।

उहाँले आफूले नेतृत्व गरेको जनयुद्ध रोल्पाबाट सुरु गरेको र ठूलो राजनीतिक परिवर्तन गरेको दावी गर्दै टावरले युद्धमा ज्यान गुमाएका योद्धाको स्मरण गर्न सिकाएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button