जन सरोकार

अभिभावककै कारण छोरीहरूलाई ५ कक्षाभन्दा माथी पढ्नै मुस्किल

कैलालीमा मुस्लिम समुदायका छोरीहरुले ५ कक्षामाथि पढ्नै मुस्किल रहेको पाइएको छ । छोरी ठूली भएमा अभिभावकले विद्यालय पठाउन आनाकानी गर्दा छोरीहरूको शिक्षा आर्जनमा बाधा पुगेको छ । जानकी गाउँपालिका–५ पथरैयामा मुस्लिम समुदायको बसोबास छ ।

पथरैयामा मुस्लिम समुदाय विगत ८० वर्षदेखि बसिरहेका छन् । बस्तीकै बीचमा विसं २०४८ मा स्थापना भएको बाल विद्या मन्दिर आधारभूत विद्यालय छ तर त्यो बस्तीबाट मुस्लिम समुदायकी बालिका शकिना खातुन जागाले मात्रै कक्षा ७ उत्तीर्ण गर्नुभएको छ । शकिनाको विवाह भइसकेको छ । आँगनकै विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने भए पनि यहाँका मुस्लिम बालिका भने ५ कक्षाभन्दा माथि पार गर्न सकेका छैनन् । किशोरावस्था प्रवेश गरेकी छोरीलाई विद्यालय पोशाक लगाउन परिवारको स्वीकृतिको अभाव हुने तथा बालविवाह गरिदिने कारणले ५ कक्षासम्म पढेका छोरीहरुले शिक्षालाई निरन्तरता दिन नसकेको बताएका छन् ।

समुदायले छोरीका लागि शिक्षा अनिवार्य नठानेकै कारण छोरीहरुले आँगनमै भएको विद्यालयमा समेत पढाइ पूरा नगरेको स्थानीयवासीको भनाइ छ । सानै उमेरमा बालविवाह गरेकी कुरेसा खातुनले शिक्षा आर्जन गर्ने इच्छा भएर पनि पूरा गर्न पाउनुभएन । बालविवाह गरेकी कुरेसालाई हाल शारीरिक समस्या छ । “मैले सानै उमेरमा विवाह गरेका कारण शारिरीक र मानसिक समस्या भोग्नुपर्यो”, कुरेसाले भन्नुभयो, “मैलेजस्तै आफ्ना छोरीले पनि यस्तो समस्या भोग्न नपरोस् भनी सम्झाउने गरेकी छु । यहाँ गरिबीका कारण छोरी पढाउनुभन्दा छिट्टै विवाह गरिदिने चलन छ ।”

घरायसी कामको बोझका कारण कक्षा ५ पढ्दापढ्दै विद्यालय छाडेकी जेहरा वालुम आजभोलि विद्यालय छाडेकामा पछुतो मान्नुहुन्छ । उहाँलाई पढ्ने इच्छा हुँदाहुँदै पनि अभिभावकको विरुद्धमा जान सक्नुभएन । “हाम्रो समाजमा छोरी ठूली भए विद्यालय पोशाक सर्ट, स्कट र पाइन्ट लगाउन अप्ठ्यारो मान्ने चलन छ । त्यसैले पनि छोरीलाई अलि ठूली भए घरकै काम सिकाउने गरिन्छ”, जेहरा भन्नुहुन्छ, “हाम्रो चलनका कारण मजस्ता धेरै छोरीको शिक्षा पूरा हुन सक्दैन । चाहना भएका, पढाइमा अब्बल छोरी पनि घरमै थन्किन बाध्य छन् ।”

शिक्षक मोहम्मद नवी जागाले मुस्लिम समुदायका मान्यताका कारण छोरीको शिक्षामा बाधा पुगिरहेको बताउनुभयो । “छोरीले छोटा लुगा लगाउन हुँदैन, विद्यालयको पोशाक छोटो पहिरन हुन्छ, छोरीले त्यो पहिरन लगाउनका लागि अनुमति पाउँदैनन्”, उहाँले भन्नुभयो, “बन्द वातावरणमा राखिएका छोरीहरुसमेत खुल्न सकेका छैनन् । उनीहरु लजालु स्वभावका छन् । उनीहरु आफ्नै विवेक प्रयोग गरेर विद्यालयलाई निरन्तरता दिन सकिरहेका छैनन् ।”

सामाजिक अगुवा साहिदअली जागा अशिक्षा र अभिभावकको कमजोरीका कारण छोरीहरुले पढाइ छाड्ने गरेको बताउनुभयो । “शिक्षामा छोरीको पहुँच बढाउन र बालविवाह रोक्न अभिभावक जिम्मेवार बनेको देखिँदैन”, उहाँले भन्नुभयो, “निगरानी गर्न र अनिवार्य छोरी पढाउनुपर्छ भन्ने खालको नीति ल्याउन जरुरी छ । जसरी सरकारले बालविवाह गर्नेलाई कारवाही गर्ने कानून ल्याएको छ, त्यसैगरी छोरी नपढाउने अभिभावकलाई पनि कारवाही गर्ने कानूनी व्यवस्था हुनुपर्छ ।”

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले चलनका नाममा छोरीलाई शिक्षा आर्जन गर्नबाट वञ्चित गराइनु गलत भएको बताउनुभयो । “पहिरन र चलनका नाममा छोरीमाथि भइरहेको लैङ्गिक विभेदले बालविवाहलाई प्रश्रय दिएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “हामी छोरीको शिक्षामा गम्भीर छौँ, हामीले विद्यालय भर्ना कार्यक्रम, घरदैलो कार्यक्रमजस्ता काम गर्ने गरेका छौँ । यसरी पढाइ छाडेका छोरीको शिक्षामा सघाउन पालिकाले विशेष कार्यक्रम ल्याउनेछ ।”

गाउँपालिका अध्यक्ष चौधरीले पालिकाले विद्यालयमा आकर्षण बढाउन समुदायको मागअनुसार पोशाक वितरण, पाठ्यपुस्तक वितरणलगायतका कार्यक्रम सञ्चालन गरेर पनि विद्यार्थीलाई प्रोत्साहन गरिरहेकाले अभिभावकलाई छोरीको शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.