जापान

आगामी साताबाट हिमालयन ईन्टरनेशनल एकाडेमीमा पढाई सुरू हुने

जापानको राजधानी टोकियोको कोईवा शहरमा सुरू गरिएको नेपाली विद्यालय हिमालय ईन्टरनेशनल एकेडेमी विद्यालयले आगामी साताबाट पठनपाठन सुरू गर्ने जनाएको छ ।

जापानको नयाँ शैक्षिक सत्र अप्रील महिनाको पहिलो साताबाट विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । टोकियोको पूर्वी क्षेत्रमा पर्ने यदोगावाको कोईवा शहरमा नेपाली समुदाय तथा विद्यालय जाने उमेरका बालबालिकाहरुको बढदो घनत्वलाई मध्यनजर गर्दै विद्यालय स्थापना गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यदोगावा शहरमा नेपाली सहित भारतीय तथा विदेशीहरूको बाक्लो वसोवास रहेको शहर हो। विद्यालय स्थापना गर्नुको उदेश्य सार्वजानिक गर्दै प्रधानाध्यापक तथा संस्थापक मध्येका एक शिशिर गौडेलले भन्नुभयो विदेशमा बालबालिका पढाउन समस्या नहोस भनेर अन्तर्राष्ट्रिय मापदण्डको विद्यालय स्थापना गरी पठनपाठन सुरूको चरणमा पुगेका छौ ।

विद्यालयमा चिवा राज्यको फुनावासी, चुदानोमा, ईचिखावा सहित टोकियोको निप्पोरी, आकिहावारा लगायतका अभिभावकहरूलाई पायक पर्ने तथा नजिकका अन्य स्थानबाट यातायातको सुविधा समेत राख्ने तयारी गरिएको विद्यालयका संस्थापक सदस्य राजन रिजालले जानकारी दिनुभयो । नेपाली, अंग्रेजी तथा जापानी भाषामा नेपाली तथा विदेशी शैक्षिक पाठयक्रम मापदण्डलाई आधार मानेर विद्यालयले पठनपाठन तयारी गरेको हो ।

नर्सरीबाट कक्षा चारसम्मको कक्षाबाट सुरू गरिने विद्यालयले अहिलेको भवनमा सयजना क्षमता रहेको कक्षामा पहिलो चरणमा करिव चार दर्जन विध्यार्थीबाट कक्षा सुरू हुने संस्थापक तथा प्रध्यानापक गौडेलले जानकारी दिनुभयो । शान्त वातावरणमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन अध्यापन गराईने लक्ष्य राखिएको विद्यालयमा जापानमा लामो समययता आईटी तथा व्यवसायीक क्षेत्रमा सकृय करिव एक दर्जन नेपालीहरु व्यवस्थापन समितिमा रहनु भएको सो अवसरमा जानकारी दिइयो ।

नेपाल पत्रकारमहासंघ जापानका अध्यक्ष माेहन घलेकाे प्रमुख आथित्यमा संचालन भएकाे कार्यक्रम विद्यालय व्यवस्थापन समिति संस्थापक सदस्य सुदीप अधिकारीले संचालन गर्नुभएकाे थियाे भने अर्का संस्थापक सदस्य राेशन केसीले जापान तथा नेपालमा भइरहेकाे विद्यालय दर्ता प्रकृयाका बारेमा जानकारी गराउनु भएकाे थियाे।

विद्यालयको एक समारोहका बीच आगामी शनिबार अप्रिल ३ तारिख शनिवार समुदघाटन गरिने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर

Back to top button