साहित्य

कस्तो मान्छे ? कथा

बेलैमा (२०४०) सालताका नै स्नातक तहसम्मको पढाइ सकाएर सरकारी बैंकमा जागीर खाएका ठाईंला बाजे टोलभरि “चतुर बाहुन”का नामले चिनिन्थे । गाँठ ५ फिट जेनतेनका भए पनि नियमित कसरत गरेर गठीलो जीउडाल बनाएका थिए । त्यसमाथि सुकिलो मुकिलो कपडा लगाएर अड्डा जान्थे । अड्डामा पनि आफ्नो आमोद प्रमोदयुक्त बाकपटुताले सबैका प्रिय थिए । समग्र ठाँट रबाफ रहर लाग्दो थियो ।

आफ्ना ६ दाजुभाइमध्ये ठाईंला भएको नाताले अनि पारिवारिक जिम्मेवारी कम भएकोले पनि होला, दाजुहरुको तुलनामा आफ्नो शिक्षा र जागीरमा राम्रो गर्न सकेका थिए, उनी आत्मबिभोर थिए । हिन्दी सिनेमामा विशेष रुची थियो । राजेश खन्नाको फिल्म सकेसम्म पहिलो शो नै हेर्न छुटाउदैन थिए । रङ्गीन पर्दाको रोमाञ्चक दुनियाँबाट प्रभावित थिए । त्यसैले बेलीबटन पेन्ट लगाउथे, घॉटीसम्म आउने जुल्फि पनि पालेका थिए । वरपरकाले पनि “ठाईंला जस्तो हुन पाए पो” भन्ने उदाहरण थिए ।

कुमालेको चक्रझैं बित्दै गयो समय । पिताजीले आफ्नो व्यबहार छिन्दै जाने क्रममा अन्य दाजुभाइसरह उनको पनि बिहा गरिदिए । बिस्तारै उनमा पनि पारिवारिक जिम्मेवारी थपिंदै गयो । सुशिल पत्निका पति र दुई कल्कलाउँदा सन्तानका पिता पनि बने । जसोतसो यौटा घडेरी किनेर घर बनाए, आफ्नो छुट्टै संसार सुरु गरे । जीन्दगी सुखदुःख चल्दै अगाडि बसढरह्यो । त्यहि समयको अन्तरालमा देशमा पनि परिवर्तन चलिरहेको थियो ।

माओवादीको सशस्त्र गतिविधि बढ्दै थियो । दुरदराजबाट बिस्थापित भुइमान्छेहरु सुरक्षा र अवशरको खोजिमा सदरमुकाम अथवा राजधानी जस्ता ठूला शहरमा बसाइ सर्ने क्रम बढ्यो । जग्गाको किनबेच बढ्दो थियो । देश, समाजको साथसाथै उनको जीवनको परिवर्तनहरु पनि जारी थिए ।

उनले हालसालै जागीरबाट अवकाश पाएका थिए । फलस्वरुप केही नगद मौज्दात थियो साथमा । उद्योग गर्ने, बचत गरेर बैंकको ब्याज खाने या कतै लगानी गर्ने ? आम मान्छेको विकल्प यस्तै त थिए । लगानी गर्नुमै उपयुक्त ठान्दै परिवार लगायत वरपरका सबैले थोरै भए पनि जग्गा किनेर राख्ने सुझाब दिएका थिए। तर वरपरका अरुभन्दा बढी पढेका र देखेका हुनाले सुझाव सुन्थे, मानिहाल्न अन्कनाउथे । उनले केही समय धैर्य गर्ने योजना बनाए।

तात्कालीन बिद्रोही राजनैतिक पार्टीको मुल मुद्दा सम्पत्ति राष्ट्रियकरण गर्नु थियो र जग्गा किन्नु खतरा हो भन्थे । तर बास्तबमा ती मुद्दाहरुभन्दा पनि अरुले किनेको भाउभन्दा सस्तोमा पाइन्छ कि भन्दै दाउ हेरिरहेका हुन्थे । कसैले जग्गा किन्ने कुरो ल्यायो भने मनको कुरोलाई गुम्स्याएरै राख्थे ।

आफ्नो जीन्दगी भरिको पूँजी आगो झैं बढ्दो जग्गामा हालेर कारोबार नगर्ने, आफ्नो अहिलेको घरनै पर्याप्त रहेको कुरो फलाक्ने गर्थे । एक हिसाबले चिठा परे जसरी जग्गा पाउने आशामा पर्खी रहे ।

हेर्दा हेर्दै वरपरका जग्गा प्लटिङ्ग वालाले सिध्याउन लागे तर उनको सोच अनुसार न जग्गाको राष्ट्रियकरण भयो न जग्गाको कारोबारमा नै मन्दी आयो । समयले कोल्टे फेर्यो । छोराछोरी उच्च शिक्षा ग्रहण गर्ने उमेरका भए ।

घरव्यबहारमा नै उनको बचेखुचेको नगद पूँजी सकियो । यता आफ्नो घर पनि पुरानो भयो, डिजाईन पुरानो किसीमको, रंग पनि फुंग उडेको । छोराछोरीले नयँ घर नबनाई बिहे नगर्ने घुर्की लाउन थाले । साथमा भएको पूँजी पनि निख्रिदो थियो । सबै जानकार थिए र त सबैको एउटै टोकसो हुन्थ्यो, “ऊ बेला जग्गा जोडेको भए अहिले बेच्न हुन्थ्यो, मान्नु भएन । तपाईं कस्तो मान्छे ?”

ढिलै सही, ठाईंलाबालाई समय द्रुतगतिमा परिवर्तन भएको आभाष त भयो, तर आफैंले जान्दाजान्दै, बुझ्दाबुझ्दै त्यो परिवर्तनलाई आत्मसात गर्न नसकेको पछुताउले पनि पोलिरह्यो । अब नयँ कार्ययोजना अनुसार घर बनाउने कसरी ? प्रचुर आत्ममन्थनपछि छोराछोरीको बिहेवारी गर्न र बाँकी पैसा आफ्नो बुढ्यौलीको लागी राख्ने योजना अनुसार आफ्नो अहिलेको घर जग्गा बेचेर काठमाडौं शहरबाट अलि टाढा सर्ने बिचार गरे ।

यस पटक बिचार मात्र गरेनन् । मान्छेहरुलाई किनबेचका लागि कुरा पनि चलाए । कता के मिल्दैन, कता के मिल्दैन, योजना पछ्याउँदै चक्कर काट्ने दिनचर्या बन्दै समय बगिरह्यो वहाँको । यसै बीचमा घर छेउको बिष्णु दलाललाई बोलाएर २ करोड २५ लाखमा ग्राहक खोज्न अह्राए । केही समयमा ग्राहक पाइयो पनि । तर ठाईंला बाले सोचे कि यति चॉडै ग्राहक पाइनुको मतलब शायद भाउ अझै बढ्दै छ, त्यसैले बेचेनन् । “तपाईं त कस्तो मान्छे” भन्दै बिष्णु दलाल रिसाउँदै बिच्किए।

बिगत ५ वर्षदेखि  ठाईंला बा यसैका खातिर लागिपरेका छन् । धेरै जनासंग परामर्श पनि निरन्तर चलिरहेछ । घरबार मिलाउन तम्सिएका ठाईंला बाले पछि फेरी गोकुल दलाललाई २ करोड ५० लाखको लागी ग्राहक खोज्न अह्राए । फेरि पहिलेकै क्रम दोहोरियो । किन्न आएका आसामी पनि दलालसंग रिसाए “यसरी नबेच्ने भए किन बोलाएको ?” झण्डै कुटाकुट नै भएको । गोकुल दलाल पनि “तपाईं त कस्तो मान्छे” भन्दै बिच्किए । अब वरिपरिका दलालगणले बुझे कि ठाईंला बा त मनको लड्डु घ्यूसंग खाएर बस्ने बाजे पो रहेछन्। वरपरका दलालगण अचेल ठाईंला बाको प्रस्ताव सुन्नेबित्तिकै कुलेलम ठोक्छन् ।

ठाईंलाबा भने हातमा पैसो नपरे पनि प्रत्येक ६ महिनामा नयाँ दलाल र खरिददार खोज्दै आफ्नो घर जग्गाको भाउ बुझ्दै रमाइरहेछन् । समयलाई बुझेर चल्न नसक्नु अनि परिवार र समाजको सल्लाह पनि नमान्नुले त्यसको पीडा स्वयं सहित पछिल्ला सन्ततिले समेत भोग्नुपर्ने रहेछ भन्ने उदाहरण बन्न पुगेका छन् ठाईला बा उनको समाजमा आजकाल ।

आजभोलि त छोरा छोरी दुबैले आआफ्नो जोडी खोजेर डेरामा घरजम थाले भन्ने हल्ला पो सुनिन थालेको छ । पुरानो घरमा ठाईंला बाका बूढ़ाबुढी मात्रै देखिन्छन् । चारकोठे घरको भूईंतल्ला भाडामा दिएर आफू चाहिं माथ्लो दुई कोठामा अटाईएका छन् । ठाईंला बाले यताउति डुल्दै घर जग्गाको भाउ सोध्ने र दलाल भेट्ने काम भने छाडेका छैनन्, एउटा मृगमरीचिका बोकेर !

पछिल्लो हप्ता घर नजिकैको चौबाटोमा खौरिएको तालु, छुस्स नकाटेको दारी, मैलो र कठालो च्यातिएको कमिज लगाएका एक ज्येष्ठ नागरिक अकस्मात् माईक्रोको अगाडि देखेर ड्राईवरले हठात ब्रेक लगाउंदै करायो, “हैन तपाईं कस्तो मान्छे ?”

ठाईंलाबा केही नभनी अघि बढे, मनभरि बिगतमा मडारिंदै अमिलो मन पारेर । बारम्बार अनकौं मान्छेबाट सुनिने एउटै शब्द घन्कियो उन्को मनभरी १ रनभुल्ल पर्दै भुत्भुताए- “खै, कस्तो मान्छे, कस्तो मान्छे ?”

अस्तु

हाल प्रबाश (जापान)

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.