कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री हुनुभएका शर्माले माघ ६ गते विश्वासको मत लिनुभएको थियो । राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको थियो ।
राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नुभएको हो । शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।
“उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ”, सचिव बुढाथोकीले भन्नुभयो, “शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी आवश्यक व्यवस्थापन गरिरहेका छौँ ।”
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसैसँग छलफल नभएको बताउनुभयो । शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उहाँले जनाउनुभयो ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक÷एक गरी ४० सदस्य रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्