अर्थकर्पोरेट/पर्यटन

उद्योगमा विद्युत कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि गरेको विद्युत कटौतीका कारण उत्पादनमा ६० प्रतिशत कमी आएको जनाइएको छ ।

मोरङ व्यापार सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रमा यही चैत ८ गतेदेखि दैनिकरूपमा बेलुकीको समयमा विद्युत कटौती गरेकाले उत्पदनमा कमीका साथै उद्योग बन्द गरी मजदुरलाई रोजगारीविहीन बनाउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले उद्योगधन्दाबाट सरकारले प्राप्त गर्ने राजस्वमा समेत ह्रास आउनुका साथै बैंक तथा वित्तीय संस्थालाई ब्याज तथा साँवा बुझाउन नसक्ने अवस्था आएको धारणा राख्नुभयो । औद्योगिक करिडोरमा दैनिक २०० मेघावाट विद्युत् आवश्यक रहेको छ ।

अध्यक्ष रिजालले विद्युत सम्बन्धी समस्या समाधान नभएमा सम्पूर्ण उद्योग बन्द गरी सरकारलाई चाबी बुझाउन उद्यमी बाध्य हुने जानकारीसमेत दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बेलुकीको समयमा दैनिक छ घण्टा विद्युत् कटौतीमा प्राधिकरणलाई सहयोग गर्ने बताउँदै मुलुकको अर्थतन्त्र जोगाउन यस क्षेत्रमा विद्युतको नियमित व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योग सङ्गठनका पूर्वअध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलङ्का र बङ्गलादेश निर्यातमा विद्युत् कटौतीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाउनुभयो । परिसङ्घका अध्यक्ष भीम घिमिरेले मुलुकको समस्याग्रस्त अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती अविलम्ब हटाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.