जन सरोकार

हेर्न जाने हैन पृथ्वीनारायण शाहको बन्दुक ?

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका वसन्तपुरस्थित एैतिहासिक गद्दी बैठक हिजो चैत्र १५ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । जहाँ पृथ्वीनारायण शाहद्वारा प्रयोग भएको बन्दुकदेखि विभिन्न समयका नेपालका झण्डाहरु राखिएको छ ।

पुनःनिर्माण सम्पन्न भएर खुला गर्ने तयारीकाबीच कोरोना महामारीले रोकिएको गद्दी बैठक नेपालको राजसंस्थाका अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसन अन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोषले ७ लाख डलर सहयोगमा पुनर्निर्माण गरेको थियो ।

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसुस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले वि सं १९६५ मा युरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गराउनुभएका हो ।

गद्दी बैठकमै राजाको गद्दी आरोहणको समारोह पनि गरिन्थ्यो ।यसबाहेक राज्यको महत्वपूर्ण बैठकका लागि गद्दी बैठकको प्रयोग गरिन्थ्यो । अन्तिम पटक राजा महेन्द्रको पालामा ओहोदाको प्रमाणपत्र गद्दी बैठकबाटै दिएको थियो ।

गद्दी बैठकमै विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुख एवं अन्य विशिष्ठ पाहुनाहरु जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्न आउने बेलामा हुन्छ ।

गद्दी बैठकको दायाँतर्फ ११ पुस्ते शाहवंशीय राजाहरुको तस्वीर राखिएको छ । त्यस्तै, ढोकाबाट प्रवेश गर्नेबित्तिकै एउटा काठबाट बनेको कलात्मक द्वार देखिन्छ । त्यो बर्मा सरकारले उपहार स्वरुप दिएको बताइन्छ ।

गद्दी बैठकको भुइँ तलामा एकीकरणदेखि गणतन्त्रसम्मको राजनीतिक परिचय दिने विवरण तथा सामग्रीहरु राखिएको छ । भुइँ तलामा प्रवेश गर्नेबत्तिकै पृथ्वीनारायण शाहद्वारा बाइसी र चौबीसी राज्य एकीकरण गर्ने बेला प्रयोग भएको बन्दुक देखिन्छ ।

ग्यालरीको अन्तिममा नेपालको नयाँ संविधान जारी हुँदासम्मको विवरण राखिएको छ । बीचमा विभिन्न समयमा प्रयोग गरिएका सामग्रीसँगै वृत्तचित्र, विभिन्न समयका नेपालको राष्ट्रिय झण्डाहरुको आकृति राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button