मोरङ क्षेत्र नं २ बाट उम्मेदवार हुने सुजाताको घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गर्नुभएको छ । आज गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो घोषणा गर्नुभएको हो ।

सोही कार्यक्रममा उहाँले पार्टीको १४ औं महाअधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेतृ कोइरालाले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्