राजनीति

“उनीहरु चुनाव लडेर आएपछि भेटौंला नि….”

चिनीयाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सम्पन्न भएको चारा दिन बितिसकेको छ । यो भ्रमणका आर्थिक, सामाजिक उपलब्धिहरुको लेखाजोखा हुँदै गर्ला तर राजनीतिक रुपमा निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

विदेशमन्त्री यीले सत्ता गठबन्धनका एक नेता पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसंग भेट गर्न नचाहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीन दिने औपचारिक भ्रमणका क्रममा विदेशमन्त्री यीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र सत्ता गठबन्धनका माओवादी अध्यक्ष प्रचण्डसंग भेटवार्ता गर्नु तर माधवकुमार नेपाललाई महत्व नदिनुको कारण के हो भन्ने जिज्ञासा अहिले राजनीतिक वृत्तमा चलिरहेको छ ।

चिनीयाँ विदेशमन्त्रीले नेपाललाई दिने नियमित आर्थिक सहायता र विकास परियोजनाहरुको समझदारी बाहेक एमसीसी पारित भएपछि बढेको चिनीया सुरक्षा चासोका विषयमा कुराकानी भएको थियो ।

काठमाडौं रहँदा विदेशमन्त्री यीले नेपाललाई भूराजनीतिक खेलमा सामेल गराउने प्रयासको चीनले विरोध गर्ने बताउनुभएको ग्लोबल टाइम्सले उल्लेख गरेको थियो । उहाँको यो कथन एमसीसीप्रति लक्षित थियो ।

त्यस्तै उहाँले केपी ओली र प्रचण्डलाई वाम एकता कायम राख्न सुझावको अपुष्ट समाचारहरु आए पनि वाम एकतामा माधवकुमार नेपाल किन परेनन् भन्ने प्रश्न उठिरहेको छ ।

सत्ता गठबन्धनमै रहेकाले सरकारले भेटघाटको तालिकामा माधवकुमार नेपाल पनि सामेल गरेको तर चिनीयाँ पक्षले चासो नदिएको परराष्ट्रका अधिकारीहरुले बताएका छन् । चिनीयाँ पक्षले माधवकुमार नेपालको दललाई मान्यता नै नदिएको संकेत गरेको छ ।

नेकपा रहँदा एमसीसीको चर्को बिरोध गर्ने नेपाल एमाले फुटाएर नेकपा समाजवादी गठन गरेपछि गठबन्धनमा टिकिरहनकै लागि र आफ्ना सांसद पद जोगाउन एमसीसी पारित गराउन खेलेको भूमिकाप्रति चीन सशंकित रहेको सन्देशका रुपमा पनि हेरिएको छ ।

परराष्ट्रले माधवकुमार नेपालसंग भेट गराउन जति प्रयास गरे पनि चिनीयाँ पक्षले सत्ता गठबन्धनका नेता प्रचण्ड र प्रतिपक्षी नेता केपी ओलीलाई भेटेपछि भैहाल्यो भन्दै माधवकुमार नेपालको दलप्रति कुनै सहानुभूति र अपेक्षा नराखेको सन्देश समेत दिएको छ ।

चिनीयाँ पक्षले माधवकुमार नेपालको पार्टीले पहिले चुनाव लडेर आफ्नो हैसियत कायम गरोस् अनि भेटिहाल्छौं नि भन्ने उत्तर दिएको पनि बताइएको छ । स्मरणीय रहास्, चीन साना दल (वामपन्थी पनि)लाई महत्व दिने गरेको छैन ।

यसै कारण सरकारमै सामेल भए पनि चीनले माधकुमार नेपाललाई महत्व दिएन । यति मात्र हैन कि एमाले विभाजनबाट चीन बेखुस रहेको सन्देश पनि दिएको छ । यसैले ‘अफ द रेकर्ड’मा ओली र प्रचण्डसंग ‘वाम एकता’को उपदेश चीनले दिएको हो ।

हुन त माधवकुमार नेपालकै जस्तो भूमिका प्रचण्डले नि खेलेको हो तर, प्रचण्ड देशको तेस्रो ठूलो राजनीतिक दलका अध्यक्ष र पूर्व प्रधानमन्त्री भएका नाताले भेटे पनि माधवकुमार नेपाललाई पूर्व प्रधानमन्त्रीकै नाताले पनि चीनले भेट्ने चासो दिएन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button