राजनीति

सरकारको तीन वर्ष १४ सय झोलुङ्गे पुल, तीन हजार २७ किलोमिटर पक्की सडक

मुलुक नयाँ राजनीतिक प्रणालीमा गएपछि बनेको वर्तमान सरकारले तीन वर्ष पूरा गरेको छ तर अब यो सरकार कहिलेसम्म रहन्छ भन्ने यक्किन छैन । झण्डै दुई तिहाई बहुमत रहेको सरकार कमजोर बनेको छ, एकीकृत पाटी सर्वोच्च अदालतको फैसलाबाट पुनः विभाजित भएको छ ।

यसबीचमा सरकारका बिरुद्ध तत्कालीन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै एक समुह लागिपरेका बेला अहिले एमाले र माओवादी केन्द्रका रुपमा पुनःस्थापित भएका छन् भने एमाले लगभग विभाजनको संघारमा छ ।

यसबीचमा सरकारले केही काम गरेन, भ्रष्टाचार मात्र गर्यो भन्ने आरोपहरु सत्तारुढ दलबाटै लागेको अवस्था छ । तर, के यो तीन वर्षमा सरकारले देश विकासका लागि केही गरेन त ? अवश्य धेरै भएका छन्, तर हुनुपर्ने अझै नभएकै हो र यसको कारण खोतल्नेतिर नलागौं ।

यसबीचमा इतिहासमै छलाङ्ग मार्नेगरि पूर्वाधार विकासको काम अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वाधार व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले दावी गर्नुभएको छ । उहाँले तीन वर्षको अवधिमा एक हजार ४ सय २३ वटा झोलुङ्गे पुल निर्माण भएको बताउनुभयो । देशभरमा हाल आठ हजार ६०१ वटा झोलुङ्गे पुलहरुमध्ये चौध सयभन्दा बढी झोलुङ्गे पुल वर्तमान सरकारको तीन वर्षको कार्यकालमा थपिएको हो ।

यस्तै सरकारको तीन वर्षको कार्यकालमा तीन हजार २७ किलोमिटर पक्की सडक निर्माण भएको थपलियाले जानकारी दिनुभयो । त्यस्तै तीन वर्षमा १ सय ३३ मेगावट विद्युत् उत्पादन भएको छ भने अपर तामाकोशीबाट ४ सय ५६ मेगावट जोडिने अवस्थामा रहेको छ ।

यसै गरी यस अवधिमा देशमा १ सय ७१ वटा तुइन रहेको सबै तुइन विस्थापित हुने अवस्थामा पुगेका छन् । जसमा १ सय ३० स्थानमा झोलुङ्गे पुल र केही स्थानमा पक्की पुलहरु निर्माणाधीन छन् । मध्यपहाडी लोकमार्गले २६ जिल्ला र हुलाकी राजमार्गबाट २१ जिल्लामा प्रत्यक्ष लाभ पुगेको छ भने आमनागरिकको जनजीविका फेरिएको अवस्था छ ।

यसै गरी २०७२ को भूकम्पले क्षतविक्षत बनाएको पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको पुननिर्माणको काम पनि तीब्रगतिमा भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘म बनाउछु मेरो धरहरा’ भन्ने नाराले पनि साकार रुप लिदैछ, धरहराको २२ तलाको पुननिर्माण सम्पन्न भएको छ । सरकारको पूर्वाधार विकासको काममा आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो ।

यति काम भए पनि देशको पूर्वाधार विकासको क्षेत्रमा समस्या भने टन्नै रहेको उहाँ बताउनुहुन्छ । दक्ष जनशक्तिको अभाव भने हुने गरेको थपलिया बताउनुहुन्छ । यस क्षेत्रमा थप छिटो, छरिटो र गुणस्तरीय प्रतिफल हासिलका लागि जनशक्ति विकासका काममा पनि सरकारले ध्यान दिइरहेको उहाँले बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button