जन सरोकार

चन्द्रागिरि केबलकारभित्र डेढ घण्टा यात्रु थुनिएपछि

काठमाडौं उपत्यकाको कान्छो पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको चन्द्रागिरि पुग्ने केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि डेढ घण्टासम्म यात्रु कवलकारभित्र थुनिएका छन् ।

मङ्गलबार दिउँसो साढे २ बजे चन्द्रागिरि केबलकारमा प्राविधिक समस्या आएपछि अड्किएका पाँच बालबालिकासहित ३७ जनाको प्रहरीको प्रयासमा उद्धार गरिएको थियो ।

केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केबलकार स्टेसन पुगेको थियो ।

त्यति मात्र होइन सम्भावित दुर्घटना हुन नदिन तथा यात्रुको सकुशल उद्धारका लागि जिल्ला दैवीप्रकोप तथा उद्धार समितिको प्राविधिक सहितको टोली पनि तयारी अवस्थामा राखिएको थियो ।

केबलकारमा प्राविधिक समस्या आएको भनिए पनि विद्युत् प्रवाह नै बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवाह गर्ने जेनेरेटरमार्फत केबलकार सञ्चालन गर्ने प्रयास पनि सफल भएन ।

पटक पटकको प्रयास सफल हुन नसकेपछि कम्पनीका प्राविधिक तथा प्रहरीसहितको टोलीले हाते प्रविधिमार्फत केबल (केबलकार तलमाथि गर्ने लाठो)लाई घुमाएर डेढ घण्टापछि यात्रुको उद्धार गरिएको थियो ।

माथिल्लो भागमा रहेका यात्रुलाई चन्द्रागिरि मन्दिरतर्फबाट र बीचमा अड्किएका ३७ जना यात्रुलाई थानकोटतर्फको स्टेसनबाट उद्धार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

चन्द्रागिरि हिल्स प्रालिले भने विद्युत् प्रवाहमा गडबडी हुँदा केही बेर केबलकार रोकिएको भन्दै घटना सामान्य रहेको दाबी गरेको छ । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले विद्युतीय स्विचमा समस्या आएको र केही बेरमै सो समस्या समाधान भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button