स्थानीयतह निर्वाचन

मतपत्रको परीक्षण छपाइ सुरु

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जानु भई मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिनुभयो । मतपत्र छपाइभन्दा अघि मेसिनको परीक्षण गरिएको छ ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ । विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।

काठमाडौँ उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ । नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button