राजनीति

आर्थिक विकास गर्न र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण

जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा संस्थागत गर्दै मुलुकको आर्थिक विकास गर्न र संविधान कार्यान्वयनमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सका अवसरमा यहाँ आज आयोजित समारोहमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “राजनीतिक दलले उठाउनुपर्ने मुद्दा नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले उठाउने गरेका छन्, राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु ।”

भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौँ, त्यस अर्थमा पनि मिडियाको भूमिका महत्वपूर्ण छ ।” नेपालले विभिन्न देशसँग सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुक अब स्थानीय निकायको निर्वाचनमा प्रवेश गर्न लागेको सन्दर्भ उल्लेख गर्दै संविधानको कार्यान्वयनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “व्यापार घाटा झनै बढेको छ, विविध खालका आर्थिक समस्या सामना गर्नुपरेको छ, राजनीतिक रुपमा स्थिरता दिन सकिएको छैन, अब हामी जनताको अदालतमा खडा हुने स्थिति छ, अब प्राप्त हुने जनमतले अग्रगति र स्थिरतातर्फ लैजान मार्गदर्शन गर्छ, आउने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्नुपर्छ ।”

नेकपा ९एमाले० का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी निर्वाचनमा गठबन्धन गर्दा संसदीय मूल्य र मान्यतालाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “हाम्रो संविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ, यो निर्वाचन प्रणालीमा अपवादमा बहुमत आउँछ, गठबन्धन गर्नुपर्छ, तर, त्यो मूल्य र मान्यताका आधारमा हुनुपर्छ ।”

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी नेत्री तथा सांसद चन्दा चौधरीले नेताहरुलाई अब व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको हितमा केन्द्रित हुन सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सरकारसमक्ष प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको माग गर्नुभयो । क्लबका सभापति ऋषि धमलाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नतर्फ केन्द्रित हुन दलका शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.