राजनीति

सरकारी भवनमा दलका भातृ संगठनको रजाई

सरकारी जग्गाको चरम दुरुपयोग भएका अनेक काण्ड सार्वजनिक भैरहेका बेला एक राजनीतिक दलको भातृ संगठनले भृकुटी मण्डपमा अवस्थित समाजकल्याण परिषद्को जग्गा विना सम्झौता प्रयोग गर्दैआएको खुलासा भएको छ ।

समाचार अनुसार सममाज कल्याण परिषद्को भृकुटी मण्डपस्थित भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)निकट अनेरास्ववियु विद्यार्थी सङ्गठनले तीन वर्षदेखि परिषद्सँग सम्झौता नै नगरी भृकुटीमण्डपको भवन प्रयोग गर्दै आएको हो ।

गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार २०७७ साल साउनदेखि भृकुटीमण्डपको मासिक भाडासमेत नदिई अनेरास्ववियुको केन्द्रीय कार्यालय सञ्चालनमा रहेको परिषद्ले जनाएको छ । त्यसबेला मासिक भाडा ४२ हजार रुपियाँ भए पनि अहिलेको हिसाबमा मासिक ५४ हजार ९२४ रुपियाँ पुगेको परिषद्ले जनाएको छ ।

अनेरास्ववियुको कार्यालय स्थापना हुनुअघि उक्त भवन नेपाल नेत्रहीन सङ्घले प्रयोग गर्दै आएको थियो । उक्त संस्थाले ४१ लाख ३२ हजार २०६ रुपियाँ हुँदासमेत भाडा नदिएपछि हटाइएको थियो ।

अनेरास्ववियुमा ऐन महर अध्यक्ष भएपछि २०७७ साल साउनदेखि अनेरास्ववियुसँग सम्झौताबिना नै भवन प्रयोग गरिएको समाज कल्याण परिषद्का सूचना अधिकारी सञ्जयकुमार मल्लिकले बताउनुभयो । उहाँले राजनीतिक सत्ता र शक्ति प्रयोग गरेर जबर्जस्ती रूपमा समाज कल्याणको भवन अनेरास्ववियुले प्रयोग गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले अनेरास्ववियुको कार्यालय भएको ठाउँमा पहिला नेत्रज्योति सङ्घको कार्यालय थियो । उहाँहरूले भाडा तिर्न नसकेपछि ताला लगाएका थियौँ । उहाँहरूले आएर ‘सदस्य सचिवले भन्नुभएको छ, ताला खोल्नुस्’ भन्नुभयो । त्यतिबेला पुष्कर खाती सदस्य सचिव हुनुहुन्थ्यो । हामीलाई सदस्य सचिवबाट पनि ‘ताला खोलेर देखाइदिनुस्’ भन्ने आदेश भयो अनि ताला खोलेर देखाइयो । तर उहाँहरूले जबर्जस्त रूपमा आफ्नो ताला लगाउनुभयो ।”

अनेरास्ववियुका नेताहरूले मिलन राई स्मृति प्रतिष्ठानको कार्यालय चलाउने भने पनि पछि विद्यार्थी सङ्गठनको कार्यालय राखेको उहाँले बताउनुभयो । सार्वजनिक सम्पत्ति जोगाउन प्रहरीमा उजुरी दिए पनि सुनुवाइ नभएको मल्लिकले दुःखेसो पोख्नुभयो ।

“अनेरास्ववियुका नेताकार्यकर्ताले ताला लगाएपछि भवनको रङरोगन गर्न थाल्नुभयो । पुराना संरचना र फर्निचर हटाउनुभयो,” उहाँले भन्नुभयो, “हामीले नजिकको प्रहरी कार्यालयमा सरकारी सम्पत्तिको सुरक्षा गरी पाऊँ भनेर निवेदन दियौँ तर हाम्रो केही चलेन ।”

आफू भृकुटीमण्डपको कार्यालय प्रमुख रहँद स्थिति तनावपूर्ण भएर हप्ता दिन कार्यालय नगएको पनि उहाँले स्मरण गर्नुभयो ।

तर अनेरास्ववियुका पूर्वअध्यक्ष ऐन महरले समाज कल्याणको टेन्डर प्रक्रियाबाटै वैधानिक रूपमा भवन प्रयोग गरेको जिकिर गर्नुभयो ।

“समाज कल्याण परिषद्ले भाडामा दिन टेन्डर खोलेको थियो । तत्कालीन अखिलका नेताहरू आरसी लामिछाने र झविन्द्र खत्रीको नाममा टेन्डर हालेर परेको हो,” उहाँले भन्नुभयो, “पछि सम्झौता भयो कि भएन थाहा भएन, मेरो कार्यकाल सकियो । हामीले वैधानिक रूपमा कानुनी प्रक्रिया अपनाएर कार्यालय भाडामा लिएका हौँ ।”

समाज कल्याण परिषद्लाई मासिक ४२ हजार भाडा दिने गरी टेन्डर गरेको महरले बताउनुभयो । “हामीले जबर्जस्ती भवन लिएको होइन । उहाँहरू पैसा लिन आउनुभएन, सम्झौता पनि हुन सकेन,” उहाँले भन्नुभयो, “उहाँहरू उल्टै भागेका भाग्यै गर्नुभयो ।

हामीले गरेको टेन्डर रद्द भएको छैन ।” यस्तै अनेरास्ववियुका अध्यक्ष समिक बडालले चाहिँ समाज कल्याणलाई दिनुपर्ने भाडाभन्दा बढी लगानी गरेर भवनको फिनिसिङ गरेको जिकिर गर्नुभयो ।

उहाँले महरले भनेका साथीहरूका नाममा पनि सम्झौता नभएको स्वीकार गर्नुभयो । त्यसैले अनेरास्ववियुको ब्यानर वा बोर्ड नराखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी अनेरास्ववियुको ब्यानर बनाएर बसेका छैनौँ । केन्द्रीय कार्यालयको बोर्ड राखेका छैनौँ । हाम्रा साथीहरूका नाममा टेन्डरको सम्झौता नभएकाले सङ्गठनको नाम राखेका छैनौँ । कसको नाममा टेन्डर परेको थियो भनेर समाज कल्याणलाई सोध्नुस् ।”

आफूहरूले केन्द्रीय कार्यालय कहाँ बनाउने भनेर ठाउँको खोजी गरेकाले त्यति बेलासम्म कामको व्यवस्थापन गर्न भवन प्रयोग गरेको जिकिर गर्नुभयो । तर परिषद्का सूचना अधिकारी मल्लिकले राजनीतिक शक्ति प्रयोग गरेर गलत रूपमा पारेर लिएकाले टेन्डर नै रद्द भएको दाबी गर्नुभयो ।

“टेन्डर प्रक्रियामा जाँदा धेरै बबाल गरेर दादागिरी गरेर लिनुभएको हो । टेन्डर प्रक्रिया फेयर नभएपछि सम्झौता नभएर रद्द भयो,” उहाँले भन्नुभयो, “हामीले हट्न धेरै पटक आग्रह गरिसक्यौँ । उहाँहरू अटेर गरी बसिरहनुभएको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.