जन सरोकार

बालबालिका बचाउन मनाइने सांस्कृतिक पर्व घोडे जात्रा

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन राजधानी काठमाडौं उपत्यकाको पौराणिक सांस्कृतिक पर्व घोडेजात्रा पर्व आज मनाइँदैछ । यो पर्व भोजभतेर खानेसंग मात्र सम्बन्धिन नभएर बालबालिकाको जीवन रक्षाको कथा पनि जाेडिएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे ।

राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

राजधानी उपत्यका रैथाने नेवारहरुले घोडे जात्रालाई दशैँ र तिहारको चाडझैँ नै मनाउने गरिआएका छन् । यस चाडको दिन बालबालिका, युवकयुवती, बूढाबूढी आदि सबैले बिहान सबेरै सूर्योदयभन्दा अघिदेखि नै उठी त्यसैबेलादेखि मध्यान्हकालसम्म ठूलो हर्षोल्लासका साथ भद्रकाली, रक्तकाली, श्वेतकाली, कंकेश्वरी आदि आ–आफ्ना पीठका देवीहरू र भैरव, गणेश आदि देवताहरूको दर्शन, पूजन गर्न जाने गर्दछन् ।

दिउँसो मध्यान्हकालदेखि बेलुकी सायंकालसम्म आ–आफ्नो घरमा मानिसहरूले आफ्ना परिवारहरूसँग बसी विविध प्रकारका खानेकुराहरू खाई चाड मनाउँदछन् ।

अनि सायंकालदेखि मध्यरातसम्म पनि लोग्ने मानसिहरूमध्ये धेरैजसो घरघरबाट निस्की भद्रकाली, ककेश्वरी, लुमडी, रक्तकाली तथा अन्य देवदेवीहरूको खटयात्राका साथ शहर परिक्रमा गरेर हिँड्दछन् ।

कोही व्यक्तिहरू यसै चाडको बखत बजाइने नायखिं नामक बाजा बजाएर ती जात्रा गरिएका देवदेवीहरूका खटयात्राको साथमा र त्यसै पनि डुलेर हिँड्ने गर्दछन् । त्यस्तै प्रकारले कुनै कुनै मानिसहरू आ–आफ्ना साथीभाइहरूसँग भेला भई करुणरसले परिपूर्ण भएको धातु नामक रागका गीत गाएर हिँड्छन् ।

यसै दिन नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।

समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । त्यसअवसरमा अश्वकलाका विविध रोचक कार्यक्रमअन्तर्गत म्युजिकल राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड हुने नेपाली सेनाले जनाएको छ ।

नारायणहिटी दरबार परिसरमा रहेको ‘वेग भक्ति सेवा’ आदर्श वाक्य रहेको सेनाको नेपाल क्याभलरीका घोडा प्रतियोगितामा समावेश गरिनेछ । साइकल रेश, शो–जम्प, ड्रिल राइड, क्रसकन्ट्री जम्पजस्ता खेलकुद प्रस्तुत हुनेछ । कुकुरको कौशलअन्तर्गत विविध रोमाञ्चक कलासमेत प्रदर्शन गरिनेछ ।

उपराष्ट्रपतिलगायत विशिष्ट महानुभाव टुँडिखेल जानु भई सेनाले त्यहाँ आयोजना गर्ने अश्वकलाका प्रदर्शनी अवलोकन गर्नुहुनेछ । विश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको भनाइ छ । गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने सोचअनुरूप घोडेजात्रा आयोजना गरिँदै आएकोे भनिएको छ ।

घोडा र मानिसको सम्बन्ध मानव सभ्यताको इतिहासदेखि नै छ । दैनिक जीवनमा सहयोगीका रूपमा मात्र नभई प्राचीन तथा मध्ययुगीन ठूला लडाईंमा सेनालाई घोडा र कुकुरको साथ र सहयोग हुँदै आएको छ ।

परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न सेनाले घोडेजात्रा समारोहमा घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको सैनिक प्रवक्ता नारायण सिल्वालले बताउनुभयो । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.