राजनीति

देशैभर समानान्तर कमिटी बनाएर पार्टी चलाउने अभियानमा खनाल-नेपाल समूह

देशको सबैभन्दा ठूलो पार्टी नेकपा (एमाले) लगभग विभाजनको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रको एकतालाई विघटन गरिदिएपछि उतिबेलैदेखिको विवाद विभाजनको संघारमा पुगेको हो । पार्टी अध्यक्ष केपी ओलीले माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घश्याम घुषाललाई ६ महिनाका लाग निलम्बित गरेपछि नेपाल समूह ओलीलाई पाखा लगाएर पार्टी चलाउने भन्दै गतिविधि चलाइरहेको छ ।



यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ ।

खनाल–नेपाल समूहले यसअघि तीनवटा ठूला भ्रातृ संगठन, युवा संघ, अनेरास्ववियु र अखिल नेपाल महिला संघमा समानान्तर कमिटी बनाएको छ । युवा संघको त छुट्टै कार्यालयसमेत स्थापना गरिसकेको छ । अब केन्द्रीय कार्यालय पनि नयाँ बनाउने योजना नेपालले तीन दिनअघि सार्वजनिक गरिसक्नुभएको छ ।

काठमाडौं धुम्बाराहीको एमाले केन्द्रीय कार्यालय ओली समूहले सल्लाह नै नगरी एकलौटी रूपमा थापाथलीमा सार्ने निर्णय गरेपछि खनाल–नेपाल समूहले पनि आफ्नो पक्षको छुट्टै कार्यालय बनाउन लागेको हो । खनाल–नेपाल समूहले आफू पक्षको कार्यालय राख्ने भवन खोजिरहेको छ ।

पार्टीको समानान्तर कमिटी बनाउने क्रम गण्डकीबाट सुरु भएको छ । बिहिबार पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेता नेपालले कमिटी घोषणा गरेका हुन् । नेपालले गण्डकी प्रदेशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् ।

कास्की अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली, स्याङ्जा अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी छन् । म्याग्दी अध्यक्षमा बालकृष्ण सुवेदी, बागलुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा लालबहादुर थापा, पर्वत अध्यक्षमा भक्त कुँवर र सचिवमा पदमपाणि शर्मा, तनहुँ अध्यक्षमा शंकनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की छन् ।

गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव छन् । नवलपुर र लमजुङको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन । मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको खनाल–नेपाल समूहले जनाएको छ ।

चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा एघारवटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति थियो । तीन दिनअघि खनाल–नेपाल समूहमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले एक–एक गर्दै कारबाही गरेर खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो ।

खनाल–नेपाल समूहमा रहेका नेता–कार्यकर्ता क्रमशः ओली समूहतिर जान थालेका थिए । नेपाललाई सहयोग गर्दै आएका केही केन्द्रीय नेता पनि ओली समूहमा लागेपछि खनाल–नेपाल समूहले उनीहरूलाई आफूसँगै राख्ने नीति बनाएको हो । त्यही नीतिअन्तर्गत समानान्तर कमिटी गठन थालिएको हो ।

सम्बन्धित खबर

Back to top button